काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले वित्तीय पहुँचबाहिर रहेका नागरिकलाई लक्षित गर्दै नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सार्वजनिक गरेको छ। वित्तीय समावेशीतामा योगदान पुर्याउने उद्देश्यसहित ल्याइएको यो खातामा ग्राहकले खाता खोल्नेबित्तिकै रु १०० मौज्दात संस्थाले नै ग्राहकको खातामा जम्मा गरिदिनेछ।
फाइनान्सका अनुसार, यो योजना विशेष गरी बैंकिङ पहुँच नपुगेका वा पहिलोपटक खाता खोल्न चाहने व्यक्तिहरूका लागि लक्षित गरिएको हो। सरल प्रक्रिया र न्यूनतम आवश्यकताका साथ खाता खोल्न सकिने हुँदा ग्रामीण तथा अर्धशहरी क्षेत्रका नागरिकलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउन यसले ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।
वर्तमानमा मञ्जुश्री फाइनान्सले रु २२ अर्ब निक्षेप संकलन गरी करिब रु १८.२ अर्ब कर्जा परिचालन गरिरहेको छ। आकर्षक ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा उपलब्ध गराउँदै आएको कम्पनीले हाल देशभर २७ शाखा तथा १ विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको छ।
१ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीमध्ये एक हो। ‘मेरो पहिलो बचत खाता’ जस्ता योजना सार्वजनिक गर्दै कम्पनीले बैंकिङ पहुँचलाई अझ फराकिलो बनाउन र नयाँ ग्राहकलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप कदम चालेको देखिन्छ।




