-
पुल निर्माणको ढिलाइबारे छानबिन गर्न र काम अघि बढाउन निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिने बताए । उनले यस पवित्र स्थलको गरिमा र महत्वलाई विश्वभर फैलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिर परिसरमा आयोजित ‘एकमासे शिव महापुराण तथा श्रावणी मेला-२०८०’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताए। उनले भने, “बेहडाबाबा केवल एक मन्दिर मात्र होइन, यो हाम्रो आस्था, संस्कृति र पहिचानको केन्द्र हो। यसलाई विश्वमाझ चिनाउन हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ।”
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री शाहले मन्दिरसम्म पुग्ने मुख्य मार्गमा रहेको शिवगंगा नदीको पुल निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गरे। उनले पुल निर्माणमा ढिलाइ हुनुको कारण खोजी गर्न र सम्बन्धित निर्माण कम्पनीलाई तत्काल काम अघि बढाउन लगाउन प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाई मञ्चबाटै निर्देशन दिए।
यस क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गरेको जानकारी दिँदै उनले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको विशेष पहलमा करिब १३ करोड रुपैयाँ विनियोजन भएको बताए। यो रकम मन्दिर क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणमा खर्च गरिने उनको भनाइ थियो।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित श्रावणी मेला एक महिनासम्म चल्नेछ । साउन महिनाभरि चल्ने यस ऐतिहासिक मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत हजारौं श्रद्धालु भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन् ।




