मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ। ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनीले आफ्नो पत्र फिर्ता लिएको हो। मेलम्ची विकास समितिमा गत आइतबार ठेक्का सम्झौता रद्द गरेको पत्र दिएर सिएमसीका कर्मचारी भाग्न खोजेका थिए।

भाग्न खोजेका कर्मचारीलाई समातेर समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थियो। धरौटी रकम रोक्का राखिएपछि बिहीबार सिएमसीले ठेक्का रद्दको चिठी फिर्ता लिएको खानेपानी मन्त्रालयले जनाएको छ।

‘ठेक्का रद्दको चिठी फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको छ,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने। ठेक्का रद्दको पत्र थमाएर सिएमसीका कर्मचारी इटाली फर्केका छन्। उनीहरू मेलम्ची साइटमा काममा फर्केका भने छैनन्।

‘उनीहरू फर्किन्छन्, फर्किँदैनन् भन्ने टुंगो छैन। कम्पनीमा परामर्शका लागि गएको बताएका छन्, क्रिसमस मनाएर फर्किने भनेका छन्,’ मेलम्ची विकास समितिका प्रमुख सूर्यराज कँडेलले भने। सिएमसीका कर्मचारी शनिबार इटाली फर्केका छन्।

गत आइतबार राति समातिएका उनीहरूको राहदानी बैंक धरौटी रोक्का गरेपछि फिर्ता दिइएको थियो। मेलम्चीमा सिएमसीको अढाइ अर्ब धरौटी रकम छ। त्यसबाहेक रहेका अन्य कारोबारको खाता पनि समितिले बन्द गरिसकेका छ। सिएमसीले भूकम्प र नाकाबन्दीमा काम रोकिँदा एक अर्ब क्षति भएको भन्दै उक्त रकम मागेको थियो।

 सिएमसीले मागेको रकममध्ये ३५ करोड दिने सहमति पनि भएको थियो। तर, काम सकेपछि मात्र रकम दिने भनेपछि सिएमसीले ठेक्का रद्द गरेको पत्र समितिमा पठाएको थियो। सिएमसी कर्मचारीले सो रकम गत शुक्रबारसम्म दिनुपर्ने अन्यथा ठेक्का रद्द गर्ने भनिरहेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

प्रतिकृया दिनुहॊस