ओली सरकारलाई जसपाको धक्का, राष्ट्रिय सभामा अल्पमतमा

काठमाडौं । राजनीतिक समीकरणमा आएको नाटकीय फेरबदलसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यो निर्णयसँगै सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ भने प्रतिनिधि सभामा रहेको दुईतिहाइको सुविधाजनक बहुमत पनि गुमेको छ ।

जसपा नेपालका सांसद प्रकाश अधिकारीले बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको पुष्टि गरे । यो निर्णयसँगै सरकारका लागि राष्ट्रिय सभामा विधेयक पारित गराउने प्रक्रिया निकै चुनौतीपूर्ण बनेको छ ।

समर्थन फिर्ताको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको ‘प्याकेज सहमति’को प्रयास विफल हुनु हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले असार ३० गते बालुवाटारमा भएको दुई घण्टा लामो बैठकमा मधेस प्रदेश सरकार, संघीय सरकारमा सहभागिता र भूमिसम्बन्धी विधेयकमा पार्टीका सरोकारहरूलाई एकमुष्ट सम्बोधन गर्न ‘प्याकेज डिल’को प्रस्ताव राखेका थिए ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवका अनुसार, प्रधानमन्त्री ओली र सभापति देउवाले जसपालाई सरकारमा आउन र भूमि विधेयक पारित गर्न सहयोग गर्न आग्रह गरे पनि प्याकेज सहमतिमा ठोस प्रतिबद्धता जनाएनन् । उनीहरूले ‘सकारात्मक रहेको र कार्यदल बनाएर छलफल गर्दै जाने’ जस्ता अस्पष्ट जवाफ दिएपछि अध्यक्ष यादव असन्तुष्ट बनेका थिए । सत्तापक्षले आफ्ना मागलाई गम्भीर रूपमा नलिएको निष्कर्ष निकाल्दै यादवले छलफलको दुई दिन नबित्दै संसदीय दलमार्फत समर्थन फिर्ताको कठोर निर्णय लिएका हुन् ।

राष्ट्रिय सभाको अंकगणित
५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ । जसपा नेपालको समर्थन फिर्तासँगै सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, एमाले, लोसपा) सँग २८ सांसद मात्र छन् । तीन सांसदसहित जसपा नेपाल ‘किंगमेकर’को भूमिकामा थियो, जसको अभावमा अब सरकार स्पष्ट अल्पमतमा छ ।

यद्यपि, संविधानअनुसार प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाले ६० दिनभित्र पारित नगरेमा सभामुखले प्रमाणीकरणका लागि सिधै राष्ट्रपतिसमक्ष पठाउन सक्ने व्यवस्थाले सरकारलाई केही राहत दिए पनि राजनीतिक र नैतिक संकट भने बढेको छ ।

गत वर्ष असार ३१ मा ओली प्रधानमन्त्री नियुक्त हुँदा १८८ सांसदको समर्थनसहित प्रतिनिधि सभामा दुईतिहाइ बहुमत थियो । प्रधानमन्त्री ओलीले बारम्बार आफूसँग ‘खरानीको डल्लो नभएर दुईतिहाइ रहेको’ भन्दै राजनीतिक दम्भ प्रस्तुत गर्दै आएका थिए । यसअघि नै चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र अब पाँच सांसद रहेको जसपा नेपाल बाहिरिएपछि सरकारले प्रतिनिधि सभामा दुईतिहाइ गुमाइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री