काठमाडौं । नेपालको निर्माण तथा औद्योगिक क्षेत्रमा अग्रणी स्थानमा रहेको मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले आफ्नो विकास यात्रामा एक ऐतिहासिक फड्को मारेको छ। कम्पनीले निजी इक्विटी फण्ड ‘अवसर इक्विटी डाइभर्सिफाइड फण्ड’ बाट झन्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी भित्र्याएको छ। यो लगानीलाई कम्पनीको भविष्य, बजार विस्तार र नवीन उत्पादन प्रतिको लगानीकर्ताको गहिरो विश्वासको प्रतीकका रूपमा हेरिएको छ।
नेपालका उच्च वृद्धि सम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन क्रियाशील अवसर इक्विटीबाट प्राप्त यो लगानीले मंगलम इन्डष्ट्रिजको वित्तीय अवस्थालाई मजबुत बनाउन मात्र नभई यसको सञ्चालन प्रक्रिया, उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार, यो पुँजीलाई मुख्यतया तीन क्षेत्रमा केन्द्रित गरिनेछ: कार्यसञ्चालन प्रक्रियाको सुदृढीकरण, उत्पादनमा नवप्रवर्तन र दिगोपनको प्रवर्द्धन। यसले कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।
मंगलम इन्डष्ट्रिजले अवसर इक्विटीसँगको सहकार्यलाई केवल वित्तीय साझेदारीका रूपमा मात्र नभई एक रणनीतिक गठबन्धनका रूपमा लिएको बताएको छ। यो सहकार्यले कम्पनीलाई नयाँ व्यावसायिक अवसरहरूको खोजी गर्न, गुणस्तरीय उत्पादनका नवीन मापदण्डहरू तय गर्न र उत्कृष्टता हासिल गर्न थप प्रेरित गर्नेछ।
पछिल्लो समय नेपाली उद्योगहरूमा निजी इक्विटी फण्डको आकर्षण बढिरहेको सन्दर्भमा यो लगानीले स्थानीय उत्पादनमूलक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले नेपालका सफल उद्योगहरूमा लगानीको प्रचुर सम्भावना रहेको र व्यावसायिक वातावरण क्रमशः मजबुत बन्दै गएको समेत संकेत गर्दछ। यो लगानीसँगै मंगलम इन्डष्ट्रिजले आगामी दिनमा आफ्ना उत्पादनहरूलाई थप परिष्कृत गर्दै उपभोक्तामाझ नयाँ पहिचान बनाउने लक्ष्य राखेको छ।




