काठमाडौं गोर्खाजलाई वर्ल्डलिंकको शक्ति, नेपाल प्रिमियर लिगमा नयाँ ऊर्जा

  • दोस्रो सिजनका लागि शीर्ष प्रायोजन सम्झौता, व्यावसायिक क्रिकेटको विकासमा कोसेढुङ्गा

काठमाडौं । नेपाली फ्रेन्चाइज क्रिकेटको दुनियाँमा एक महत्वपूर्ण साझेदारीको घोषणा भएको छ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (Title Sponsor) बनेको छ। यो सम्झौतासँगै घरेलु क्रिकेटमा व्यावसायिकता र प्रतिस्पर्धाको स्तर अझ उकासिने अपेक्षा गरिएको छ।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा वर्ल्डलिंकका कार्यकारी निर्देशक श्री मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक श्री अनुभव स्वाँर सिरोहियाले सम्झौता पत्रमा हस्ताक्षर गरी यस साझेदारीलाई औपचारिकता दिएका हुन्।

सम्झौताप्रति उत्साह व्यक्त गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक श्री अग्रवालले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र यसले समाजमा ल्याएको एकतालाई औंल्याए। उनले भने, “क्रिकेट आज नेपालको सबैभन्दा लोकप्रिय खेल हो, जसले हरेक उमेर समूहलाई जोडेको छ। वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट स्तरबाटै क्रिकेटलाई सहयोग गर्दै आएको थियो, र अब काठमाडौं गोर्खाजमार्फत यो सहकार्यलाई व्यावसायिक तहमा पुर्‍याउन पाउँदा हामी गौरवान्वित छौं।” उनले थपे, “यो केवल वित्तीय सम्झौता मात्र होइन, नेपाल प्रिमियर लिग जस्ता प्रतियोगिताको दीर्घकालीन सफलताका लागि हामीजस्ता व्यावसायिक घरानाको संलग्नता अनिवार्य छ।”

साझेदारीले टोलीको मनोबल उच्च भएको बताउँदै काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक श्री सिरोहियाले भने, “कुनै पनि लिगको सफलता ठूला र प्रतिष्ठित ब्रान्डहरूको सहभागितामा निर्भर रहन्छ। वर्ल्डलिंकजस्तो अग्रणी संस्था हाम्रो टोलीसँग जोडिनु समग्र नेपाल प्रिमियर लिगकै लागि खुसीको कुरा हो।” उनले थपे, “यो साझेदारीले हामीलाई नयाँ लक्ष्यहरू निर्धारण गर्न प्रेरित गरेको छ र प्रतियोगिताका लागि हाम्रो तयारी थप तीव्र बनेको छ।”

बलियो टोली, उच्च महत्त्वाकांक्षा
आगामी सिजनका लागि काठमाडौं गोर्खाजले तयारीलाई निकै महत्त्व दिएको छ। टोलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ऐतिहासिक सफलता दिलाएका पूर्व प्रमुख प्रशिक्षक श्री मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा भित्र्याइसकेको छ।

यसैगरी, मार्की खेलाडीका रूपमा तीव्र गतिका बलर करण केसीलाई कायम राख्दै टोलीले राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्यहरू भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र युवा प्रतिभा प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ। बलियो प्रशिक्षक र अनुभवी खेलाडीहरूको साथले यस सिजनमा काठमाडौं गोर्खाजलाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

यो ऐतिहासिक साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको व्यावसायिक विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ। साथै, निजी क्षेत्रको यस्तो सक्रिय सहभागिताले राष्ट्रिय खेलकुदको दिगो विकासका लागि एक बलियो आधार तयार पार्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप