काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर तीन हजार अमेरिकी डलर पुर्याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।
राष्ट्रिय परिचय पत्रमार्फत केवाईसी संकलन
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग अझ प्रभावकारी रूपमा एकीकृत गर्ने घोषणा गरिएको छ । नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि सो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ ।




