रसुवा बाढी अपडेट : तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता (नामसहित)

काठमाडौं । चीनको तिब्बततर्फबाट गएराति एक्कासि उर्लिएर आएको बाढीले रसुवाको सीमावर्ती क्षेत्र टिमुरे र रसुवागढीमा विध्वंस मच्चाएको छ । मध्यरातमा आएको बाढीमा परी ३ जना प्रहरी र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् भने सुरक्षाकर्मीले ९ जनाको जीवितै उद्धार गरेका छन् ।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खोज तथा उद्धार कार्यमा खटिएको छ । सशस्त्र प्रहरी बलका अनुसार, बाढीमा परी इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् । उनीहरू कार्यक्षेत्रमै खटिएका बेला बाढीको चपेटामा परेको अनुमान गरिएको छ ।

यसैगरी, बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन् । सशस्त्र प्रहरीले उपलब्ध गराएको सूचीअनुसार, बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन् । उनीहरु रसुवागढी क्षेत्रमा विभिन्न काममा संलग्न रहेको बुझिएको छ ।

बाढीमा बेपत्ता हुने अन्य नेपाली नागरिकहरुमा अधिकांश मजदुर र चालक रहेका छन् । जसमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु छन् । त्यस्तै, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्ताको सूचीमा छन् ।

भौतिक संरचनामा ठूलो क्षति
मध्यरातको बाढीले मानवीय क्षति मात्र नभई भौतिक संरचनामा पनि ठूलो नोक्सानी पुऱ्याएको छ । नेपाल-चीन व्यापारको मुख्य धमनीका रूपमा रहेको मितेरी पुलमा क्षति पुगेको छ भने रसुवागढी भन्सार कार्यालय र निर्माणाधीन सुख्खा बन्दरगाह क्षेत्र डुबानमा परेका छन् ।

बन्दरगाहमा पार्किङ गरिएका ७ वटा विद्युतीय गाडी (इभी) समेत बाढीले बगाएको छ । यसका साथै, निर्माणाधीन रसुवागढी हाइड्रोपावरको बाँध र कामदार बस्ने क्याम्पमा समेत बाढीले क्षति पुऱ्याएको छ । राष्ट्रिय गौरवको आयोजनामा समेत गम्भीर असर पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री