काठमाडौं । रसुवास्थित नेपाल-चीन सिमानामा पर्ने ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा परी तीन प्रहरीसहित १५ जना नागरिक बेपत्ता भएका छन् । यस दुःखद घटनालगत्तै सत्तारुढ दल नेपाली कांग्रेसले उद्धार तथा राहत कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग जोडदार आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै रसुवामा आएको बाढीले पुर्याएको जनधनको क्षतिले पार्टीलाई दुःखित र गम्भीर बनाएको बताएका छन् । उनले विज्ञप्तिमार्फत भने, ‘विपत्तिको यस घडीमा उद्धार कार्यलाई अझ सुव्यवस्थित र प्रभावकारी बनाउन हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’
कांग्रेसले वर्षायाममा हरेक वर्ष मुलुकले बाढीपहिरोको प्रकोप सामना गर्नुपरेको र गत वर्ष असोजमा बेमौसमी विपत्तिसमेत व्यहोर्नुपरेको तीतो यथार्थ स्मरण गराएको छ । यस्ता प्राकृतिक प्रकोपको एकीकृत एवं योजनाबद्ध रूपमा सामना गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।
साथै, कांग्रेसले सम्भावित जोखिमबाट बच्न र जनधनको क्षति न्यूनीकरण गर्न नागरिक स्तरबाट पनि उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।




