काठमाडौं । अब नेपाली नागरिकले सानोतिनो आर्थिक गर्जो टार्न वा तत्काल आवश्यक परेको रकम जुटाउन बैंकको लामो प्रक्रिया र धितोको झन्झट बेहोर्नु नपर्ने भएको छ । ‘फोन लोन’ नामक नयाँ सुविधाले मोबाइल बैंकिङ एपमार्फत नै कुनै कागजी प्रक्रिया र धितोबिना ५ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै उपलब्ध गराउने सेवा प्रारम्भ गरेको छ । यो सुविधाले वित्तीय पहुँचमा एक नयाँ युगको सुरुवात गरेको छ ।
आम नागरिकका साना-ठूला आकस्मिक आवश्यकता परिपूर्ति गर्न सहज, छरितो र सुरक्षित विकल्पका रूपमा यो सेवा ल्याइएको हो। नवीनतम प्रविधिको प्रयोगमार्फत सञ्चालन हुने यो कर्जा सुविधा मासिक किस्तामा भुक्तानी गर्न सकिने गरी डिजाइन गरिएको छ, जसले गर्दा प्रयोगकर्तालाई आर्थिक भार पनि कम पर्नेछ।
कुन-कुन बैंकमा छ यो सुविधा?
हाल यो सेवा नौवटा अग्रणी वाणिज्य बैंकहरूले आफ्ना मोबाइल बैंकिङ एपमार्फत प्रदान गरिरहेका छन्। सेवा उपलब्ध हुने बैंकहरूमा:
-
कृषि विकास बैंक
-
सिटिजन्स बैंक
-
कुमारी बैंक
-
लक्ष्मी सनराइज बैंक
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
-
नबिल बैंक
-
माछापुच्छ्रे बैंक
-
प्रभु बैंक
-
एनआईसी एसिया बैंक
कसरी लिने फोन लोन?
यो सेवा लिनका लागि सम्बन्धित बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुपर्छ। प्रयोगकर्ताले आफ्नो योग्यता, कर्जाको सीमा र सेवाका नियम-सर्तहरू फोनेलोनको आधिकारिक वेबसाइट वा सम्बन्धित बैंकको एपमार्फत नै जाँच्न सक्नेछन्। योग्यता पुगेका प्रयोगकर्ताले आफ्नो मोबाइल एपबाटै केही मिनेटमै आवेदन दिएर कर्जा रकम तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन्।
अहिले अयोग्य भए के गर्ने?
यदि कुनै ग्राहक तत्काल फोन लोनका लागि योग्य नदेखिएमा भविष्यमा यो सुविधा लिन सक्ने ढोका पनि खुला छ। बैंकले ग्राहकको खातामा हुने नियमित कारोबार, बचतको स्थिरता र विगतमा लिएका कर्जा समयमै भुक्तानी गरेको रेकर्डजस्ता वित्तीय व्यवहारको विश्लेषणका आधारमा योग्यता निर्धारण गर्दछ। तसर्थ, आफ्नो बैंकिङ कारोबारलाई अनुशासित र नियमित बनाउँदै भविष्यमा यो सुविधाका लागि योग्य बन्न सकिनेछ।
फोन लोनले परम्परागत कर्जा प्रक्रियालाई प्रविधिमार्फत रूपान्तरण गर्दै वित्तीय सेवालाई अझ सहज, पारदर्शी र सर्वसुलभ बनाउने महत्त्वाकांक्षी लक्ष्य लिएको जनाएको छ। यो कदमले डिजिटल नेपालको अवधारणालाई मूर्तरूप दिनुका साथै वित्तीय समावेशीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




