काठमाडौं । त्रिशूली नदीको उर्लंदो भेलबीच एउटै रुखको हाँगामा जीवन र मृत्युको कठोर संघर्ष गरिरहेका एक दम्पतीलाई नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ । बाढीमा फसेका विदुर नगरपालिका-१, लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मंगली तामाङलाई मंगलबार बिहान हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।
सधैँझैँ तामाङ दम्पती घरनजिकैको त्रिशूली नदी किनारमा दाउरा बटुल्न गएका थिए । तर, चीनतर्फ भएको भारी वर्षाका कारण त्रिशूलीमा पानीको सतह एक्कासि र अनपेक्षित रूपमा बढ्न थाल्यो । उनीहरूले केही थाहा पाउन नपाउँदै पानीको भेलले उनीहरूलाई चारैतिरबाट घेरिलियो । ज्यान जोगाउन उनीहरू हतारहतार नदीको बीचमा रहेको सानो टापुमा पुगे, तर बाढीको बहाव झनै बढेपछि टापु पनि डुब्न थाल्यो । अन्तिम साहाराका रूपमा उनीहरू त्यहीँ रहेको एउटा सिमलको रुखमा चढेर बसे ।
तलबाट त्रिशूलीको गर्जन र माथिबाट अनिश्चित भविष्यको त्रासले उनीहरूको हरेक पल कष्टकर बनेको थियो । स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि नदीको तीव्र बहाव र जोखिमका कारण सम्भव हुन सकेको थिएन ।
यसरी भयो सफल उद्धार
उद्धारको प्रयास विफल भएपछि जिल्ला प्रशासन कार्यालय, नुवाकोटको विशेष पहलमा गृह मन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो । घटनास्थलमाथिको आकाशमा हेलिकप्टर देखिनासाथ नदी किनारमा जम्मा भएका सयौँ स्थानीयमा आशाको सञ्चार भएको थियो ।
सेनाको उद्धार टोलीले डोरीको सहायताले (Long-line Rescue) एक जना उद्धारकर्मीलाई रुखसम्म पुर्याई पालैपालो दुवै जनालाई सफलतापूर्वक हेलिकप्टरमा तानेको थियो । दम्पतीलाई हेलिकप्टरले सुरक्षित रूपमा बाहिर निकालेको दृश्य देख्दा स्थानीयले खुसी र राहतका साथ ताली बजाएका थिए । उद्धारपछि तामाङ दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू परिवारको सम्पर्कमा पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।




