काठमाडौं । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरूसँग नेपालमा मेट्रो रेलमा लगानी गर्न आग्रह गरेका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा अध्यक्ष कुँवरले सो आग्रह गरेका हुन्।
नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजना गरेको ‘बी२बी’ बैठकमा अध्यक्ष कुँवरले यस्तो धारणा राखेको संघले जनाएको छ। बैठकमा नेपालको तर्फबाट अध्यक्ष कुँवर र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भाग लिएका थिए।
सो अवसरमा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको बारे प्रस्ट पार्दै नेपालमा मेट्रो रेलमा लगानी गर्न अनुरोध गरे। यसका लागि नेपाल जर्मन उद्योग वाणिज्य संघ साथै यूकेका लगानीकर्ताहरुलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै लगानी बोर्डले यसमा पूर्णरुपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने पनि प्रस्ट पारे।
सीईओ ज्ञवालीले लगानीका प्रावधानबारे प्रष्ट पार्दै नेपालमा अहिले राम्रो लगानीको वातावरण भएको र राम्रो प्रतिफलको पनि सम्भावना रहेको बताए। साथै सोसाइटी अफ नेपालिज इन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नो अनुभव सुनाउँदै लगानीको प्रसस्त सम्भावना भएको बताए।
त्यसैगरी बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए। आयोजकको तर्फबाट बोल्दै उनले नेपालमा व्यवसायिक वातावरण राम्रो भएको कुरा प्रस्ट पारे।




