काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वीरगन्जस्थित प्रतिष्ठित आर.एम. केडिया आँखा अस्पताललाई दुई थान एयर कन्डिसनर (एसी) सहयोग प्रदान गरेको छ। अस्पतालको प्रतिक्षालयमा गर्मीको समयमा बिरामी तथा उनीहरूका कुरुवालाई हुने असहजतालाई मध्यनजर गर्दै फाइनान्सको वीरगन्ज शाखाले उक्त सहयोग हस्तान्तरण गरेको हो।
विगत पाँच दशकदेखि सर्वसाधारणलाई अनवरत सेवा प्रदान गर्दै आएको केडिया आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालित एक प्रतिष्ठित स्वास्थ्य संस्था हो। स्थापनाकालमा ५ शय्याबाट सेवा सुरु गरेको यस अस्पतालले हाल १७५ शय्यामार्फत बिरामीहरूलाई विशिष्ट सेवा पुऱ्याउँदै आएको छ। यो सहयोगले अस्पतालमा उपचारका लागि आउने हजारौँ सेवाग्राहीलाई प्रत्यक्ष राहत मिल्ने विश्वास गरिएको छ।
समाजसेवामा निरन्तर सक्रिय रहँदै आएको मन्जुश्री फाइनान्सले आफ्ना विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। वित्तीय क्षेत्रमा समेत अब्बल पहिचान बनाएको यस संस्थाले हालसम्म करिब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।
आकर्षक ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आएको मन्जुश्री फाइनान्सले देशभरका २७ शाखा र एक विस्तारित काउन्टरमार्फत आफ्ना १ लाख ५० हजारभन्दा बढी ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ।



