सेजनद्वारा सरकारले दिएको एक करोड अनुदान अस्विकार

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रस्तावित एक करोड रुपैयाँको सञ्चालन अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशिर्षक नम्बर २१ अन्तर्गत विनियोजित उक्त अनुदान नस्वीकार गर्ने निर्णय सेजनको असार १७ गते बसेको कार्यसमिति बैठकले गरेको हो।

सेजनले जारी गरेको औपचारिक विज्ञप्तिमा अनुदान अस्वीकृत गर्ने चारवटा स्पष्ट कारणहरू उल्लेख गरिएको छ। पहिलो, सेजनले सरकारसँग कुनै पनि आर्थिक माग नगरेको र मन्त्रालयले अनुदान दिने निर्णय सेजनलाई पूर्व जानकारी वा सहमति बिना एकतर्फीरूपमा गरेको उल्लेख गरिएको छ। दोस्रो, सेजनले विगतमा पनि सरकारबाट कुनै आर्थिक अनुदान स्वीकार नगरेको ऐतिहासिक अभ्यासलाई निरन्तरता दिएको छ।

तेस्रो, अनुदान स्वीकार गर्दा त्यसले संस्थाको मौलिकता, स्वतन्त्रता र पत्रकारिताको आन्तरिक नीतिगत संरचनामा प्रतिकूल असर पार्न सक्ने भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ। चौथो, यस्तो प्रकारको विनियोजनले सार्वजनिक सम्पत्ति र करदाताको पैसाको दुरुपयोग हुने सम्भावनालाई बढावा दिने, नागरिकका आधारभूत अधिकार, अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारितामाथि प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ।

सेजनका अध्यक्ष सुजन ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरकारी अनुदान पत्रकारिताको स्वाभिमान र स्वतन्त्रताको मर्म विपरीत हुने हुँदा यस्तो प्रस्ताव अस्वीकार्य छ।” सेजनले पत्रकारिता व्यवसायको धर्म, मर्यादा र आचारसंहिता विपरीत हुने गरी कुनै आर्थिक संलग्नता स्वीकृत नगर्ने स्पष्ट सन्देश दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री