काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको छ। बैंकले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका विभिन्न स्थानमा लक्षित समुदायलाई राहत पुग्ने गरी सामग्री हस्तान्तरण गरेको हो।
शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित पूर्वीचौकी गाउँपालिका वडा नं. ५ मा रहेको श्री नव प्रभात आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना विपन्न छात्र–छात्रालाई विद्यालय पोशाक वितरण गरेको छ। यस सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप उत्साह मिल्ने र उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।
यसैगरी, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई १० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ। यसबाट अस्पतालमा सेवा लिन आउने बिरामी तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, कोशी प्रदेशको धनकुटा जिल्ला अस्पताललाई बिरामी तथा कुरुवालाई बस्न सहज होस् भन्ने उद्देश्यले ७ थान तीन-सिटे कुर्सी सहयोगस्वरुप प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङका अनुसार, बैंकले नाफा कमाउने मात्र नभई समाजप्रति आफ्नो दायित्वलाई पनि सधैँ आत्मसात् गर्दै आएको छ। बैंकले यी विशेष सहयोगबाहेक स्वास्थ्य, वातावरण संरक्षण तथा वित्तीय साक्षरता जस्ता क्षेत्रमा पनि निरन्तर योगदान पुर्याउँदै आएको र आगामी दिनमा समेत यस्ता सामाजिक कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।




