-
१३ सदस्यीय नयाँ कार्यसमिति चयन, उपसभामुख मगरद्वारा बधाई तथा प्रमाणपत्र प्रदान
काठमाडौं । देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरूको छाता संगठन, कार्यक्रम व्यवस्थापन संघ नेपालको अध्यक्षमा राजेन्द्र लुईटेल (राज) सर्वसम्मत निर्वाचित हुनुभएको छ । राजधानीको लाजिम्पाटस्थित बुटिक होटलमा सम्पन्न संघको तेस्रो महाधिवेशन तथा चुनावी सभाले लुईटेलको नेतृत्वमा आगामी दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको दुई उपाध्यक्षमा तृष्णा गुरुङ र समिर लामा चयन हुनुभएको छ । यसैगरी, महासचिवमा सोनीतराज ढुंगेल, सचिवमा विपिन पोखरेल, कोषाध्यक्षमा मनोज थापा, सह-सचिवमा भागिरथ कुमार पोखरेल र सह-कोषाध्यक्षमा सपना राई निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की रहनुभएको छ ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा बोल्दै उपसभामुख मगरले कार्यक्रम व्यवस्थापन क्षेत्रले देशको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल आर्मीका उपरथी एवं वित्त प्रमुख राजन अधिकारी, वरिष्ठ चिकित्सक डा. अर्पणा शाह, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, भारत, सिकरका राजा राव विक्रम सिंह, वरिष्ठ चिकित्सक सुशीलजंग शाह तथा नेपाल पुस्तकालय संघका अध्यक्ष राजेन्द्र पाण्डे लगायतले नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा संघले तीन जना विशिष्ट व्यक्तिहरूलाई सल्लाहकारमा मनोनयन गरेको छ । जसमा वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ अस्पतालकी प्राध्यापक एवं लायन्स क्लबकी पूर्व गभर्नर डा. सुशिला मल्ल रहनुभएको छ । यसैगरी, संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रूपमा सम्मान गरिएको थियो ।
वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार बी.एम. आचार्य तथा अधिवक्ता केशव पोखरेल सम्मिलित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गराएको थियो । देशभरका १२० भन्दा बढी इभेन्ट कम्पनीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण पत्रकार आचार्यले नै गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई पर्यवेक्षकको रूपमा सम्मानपत्र प्रदान गरिएको थियो ।




