काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिबाट पारित भइसकेको निजामती सेवा विधेयकलाई संघीय सदनमा प्रस्तुत गर्दा त्यसका प्रावधानहरू फेरबदल गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । उसले यस घटनाको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन माग गरेको हो ।
रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको भूमिकामाथि प्रश्न उठाउँदै संसदीय प्रक्रियामा ‘छलछाम’ भएको आरोप लगाए । समितिले पारित गरेको र सदनमा पेस भएको विधेयकको प्रतिमा भिन्नता पाइनुले संसदीय मर्यादा र विधिको शासनमाथि नै प्रहार भएको उनको भनाइ छ ।
झाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती विधेयकमा, तपाईंले संघीय सदनको रोस्टमबाट टेबुल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ उनले सभापति खतिवडालाई दुई विकल्प दिँदै थपे, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’
समितिबाट पारित भई सदनमा पेस हुनअघिको ‘कुलिङ पिरियड’मा विधेयकका प्रावधानमा हेरफेर गरिएको रास्वपाको दाबी छ । संसदीय समितिले लामो छलफल र बहसपछि टुङ्ग्याएको विषयलाई गुपचुप ढंगले परिवर्तन गर्नुले समितिको निर्णय र सम्पूर्ण प्रक्रियाको अवमूल्यन भएको रास्वपाले ठहर गरेको छ ।
रास्वपाले सभापति खतिवडाको राजीनामा मात्र मागेको छैन, विधेयक नै नपढी पक्ष वा विपक्षमा मतदान गर्ने सांसदहरूको गैरजिम्मेवार प्रवृत्तिको समेत कडा आलोचना गरेको छ । प्रवक्ता झाले लेखेका छन्, ‘र, पढ्दै नपढेर “हुन्छ”, “हुँदैन” भन्नेहरूलाई “कुरी कुरी”!’




