‘मानो रोपेर मुरी फलाउने’ संकल्प: असारे भाकासँगै धान दिवसको रौनक

काठमाडौं । ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला’… असारे भाकाको लयसँगै हिलोमाटोमा रमाउँदै र दही-चिउराको शीतलतामा भिज्दै आज देशभर १५औँ राष्ट्रिय धान दिवस मनाइँदैछ । कृषिप्रधान देशको पहिचान बोकेको नेपालमा असार १५ लाई मानो रोपेर मुरी फलाउने संकल्पको दिन तथा आपसमा खुसी साट्ने सांस्कृतिक पर्वका रूपमा लिइन्छ ।

मध्य गर्मीको यो समयमा किसानहरू खेतका गरामा व्यस्त छन् । एकातिर असारे गीतको सुरिलो भाका गुञ्जिरहेको छ भने अर्कोतिर युवा लाठे र युवती रोपाहारहरू हिलो छ्यापाछ्याप गरेर उत्सवको माहोललाई थप रमाइलो बनाइरहेका छन् । ‘असारमा हिलोमा पस्नैपर्छ’ भन्ने सामाजिक मान्यतालाई जीवन्त राख्दै शहरी क्षेत्रका मानिसहरू पनि आज खेतमा पुगेर धान रोप्ने र हिलो खेल्ने कार्यक्रममा सहभागी भएका छन् ।

श्रम र संस्कृतिको प्रतीक: दही-चिउरा
खेतको पट्यारलाग्दो कामबाट थकित शरीरलाई शीतलता र ऊर्जा दिन दही-चिउराको विशेष महत्व छ । कामको चटारोले थाकेका किसानलाई शक्ति प्रदान गर्ने विश्वासका साथ खाइने यो परिकार अब किसानको मात्रै रहेन । खेतीपातीबाहेक अन्य पेसा-व्यवसायमा आबद्ध नेपालीले पनि आजका दिन दही-चिउरा खाएर असार १५ को सांस्कृतिक महत्वलाई आत्मसात् गर्छन् । नेपाली संस्कृतिमा दहीको स्थान केवल भोजनमा मात्र सीमित छैन, यो शुभ साइतको प्रतीक पनि हो । कुनै महत्वपूर्ण कार्य वा विदेश यात्रामा निस्कनुअघि दही-अक्षताको टीका लगाउने र सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्पराले यसको सांस्कृतिक गहिराइलाई दर्शाउँछ ।

स्वास्थ्य र इतिहासको सम्बन्ध
वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि अमृत समान मानिन्छ । आयुर्वेदमा ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ अर्थात् ‘भोजनको अन्त्यमा मोही पिउनेलाई वैद्यको के काम’ भन्ने उक्तिले नै यसको औषधीय गुणलाई प्रमाणित गर्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउनेदेखि पखाला जस्ता समस्यामा औषधिको काम गर्नेसमेत विश्वास गरिन्छ । यसको ऐतिहासिक महत्वलाई नेपाल एकीकरणसँग पनि जोडिन्छ । गुरु गोरखनाथले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको जनश्रुतिले दहीलाई शक्ति र सफलतासँग जोडेको पाइन्छ ।

औपचारिक दिवस र वर्तमान चुनौती
नेपाली समाजमा परम्परागत रूपमा दही-चिउरा खाने दिनका रूपमा स्थापित असार १५ लाई सरकारले वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ देखि ‘राष्ट्रिय धान दिवस’ का रूपमा मनाउन थालेको हो । यसले धानको उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । तर, यस वर्षको धान दिवस भने किसानहरूका लागि केही फिक्का बनेको छ ।

असार मध्यसम्म पनि मनसुन सक्रिय नहुँदा देशका अधिकांश भागमा पर्याप्त वर्षा हुन सकेको छैन, जसकारण रोपाइँ प्रभावित भएको छ । कतिपय स्थानमा किसानले रासायनिक मलको अभाव झेलिरहेको गुनासो गरेका छन् । यद्यपि, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भने मलको पर्याप्त मौज्दात रहेको दाबी गर्दै आएको छ । समग्रमा, असार १५ केवल एक दिन नभएर नेपाली समाजको कृषि-संस्कृति, श्रमप्रतिको सम्मान र प्रकृतिसँगको सहअस्तित्वको जीवन्त पर्व हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री