काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले गायिका समीक्षा अधिकारीसँग सार्वजनिक रूपमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बस्नेतले लेखेको एक स्टाटसले आफ्नो चरित्रमाथि गम्भीर आक्षेप लगाएको भन्दै गायिका अधिकारीले गुनासो गरेपछि बस्नेत आफ्नो अभिव्यक्ति सच्याउन र क्षमायाचना गर्न बाध्य भएका हुन् ।
विवादको सुरुवात शनिबार बस्नेतले फेसबुकमा लेखेको एक स्टाटसबाट भएको थियो । उक्त स्टाटसले आफ्नो विगतको पीडालाई कोट्याउँदै चरित्र हत्या गरेको भन्दै गायिका अधिकारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेसबुकमा एक खुला पत्र लेखेकी थिइन् ।
आफ्नो पत्रमा अधिकारीले हालै प्रधानमन्त्रीले व्यक्त गरेको सद्भावप्रति आभार प्रकट गर्दै उनकै विश्वासपात्रबाट आफूमाथि अन्याय भएकोमा मर्माहत भएको बताएकी थिइन्। उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो । तर त्यो पोस्टको मसी सुक्न नपाउँदै हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु ।’
उनले बस्नेतलाई प्रश्न सोध्दै थप लेखेकी छन्, ‘जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ । यो तीन करोड जनतालाई थाहा छ । धेरै भन्ने नपार्नुस् । बस्नेतज्यूलाई मेरो प्रश्न छ- मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो ?’
गायिका अधिकारीको यो गुनासो सार्वजनिक भएलगत्तै बस्नेतले आफ्नो बचाउ गर्दै माफी मागेका थिए । उनले आफ्नो स्टाटस कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले नलेखिएको स्पष्ट पार्दै आफ्नो अभिव्यक्तिले समीक्षाको भावनामा चोट पुगेकोमा क्षमा मागेका हुन् ।
आफ्नो संशोधित स्टाटसमा स्पष्टीकरण दिँदै बस्नेतले लेखेका छन्, ‘मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ । सोही विषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिए। कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले बिलकुल होइन । तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुझेर मैले स्टाटसलाई केही संशोधन गरेको छु ।’





