विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमामा युवा इञ्जिनियर पौडेल नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नीति निर्माण तथा व्यवस्थापकीय नेतृत्वलाई थप सुदृढ बनाउन सरकारले सञ्चालक समितिमा युवा इञ्जिनियर रोहित पौडेललाई नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यमा मनोनयन गरेका हुन् ।

खोटाङको हलेसी-तुवाचुङ नगरपालिका-९ स्थायी घर भएका नवनियुक्त सदस्य पौडेलसँग जलविद्युत् आयोजना निर्माण र परियोजना व्यवस्थापनमा करिब एक दशक लामो कार्यअनुभव छ । काठमाडौं विश्वविद्यालयबाट वित्त तथा परियोजना व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी प्राज्ञिक क्षेत्रमा समेत सक्रिय थिए । उनले पेसिडेन्सियल ग्राजुएट स्कुलमा परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आएका थिए ।

प्राधिकरणले हाल ठूला जलविद्युत् आयोजनाहरूको निर्माण, विद्युत् चुहावट नियन्त्रण, आन्तरिक खपत वृद्धि र अन्तर्राष्ट्रिय विद्युत् व्यापार जस्ता महत्त्वपूर्ण कार्यहरू अघि बढाइरहेको छ । यस्तो अवस्थामा परियोजना व्यवस्थापन र वित्तीय विश्लेषणमा दख्खल राख्ने पौडेलको नियुक्तिले प्राधिकरणको नीति निर्माण र कार्यान्वयन तहमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री