काठमाडाैँ । अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । यो हप्ता अमेरिकी शेयर बजारमा पछिल्लो दशककै ठूलो गिरावट आएको हो । चीनसँगको व्यापारिक सम्बन्धमा देखिएको तनावको अवस्था, केन्द्रीय बैंकले ब्याजदरमा गरेको बृद्धि तथा सरकारी कामकाज ठप्प हुने सम्भावित कारणले गर्दा शेयर बजारमा प्रभाव परेको हो ।
सबै बजारहरु न्यूनविन्दुमा पुगेर बन्द भएका छन् । प्रविधि क्षेत्रको शेयर मार्केट नासडाकमा यो हप्ता ८.३६ प्रतिशतले गिरावट आएको छ । यस्तै औद्योगिक क्षेत्रको शेयर बजार डाव जोन्समा यो हप्ता सन् २००८ यताकै ठूलो गिरावट आयो ।
डाव जोन्समा यो हप्ता ६.८ प्रतिशतको गिरावट आयो । यस्तै एस एण्ड पी ५०० शेयर मार्केटमा यो हप्ता ७ प्रतिशतले गिरावट आएको छ । यो सन् २०११ यताकै ठूलो मन्दी हो । शेयर बजारमा लगातारको बढोत्तरीपछि भएको गिरावटले औद्योगिक क्षेत्रको मुनाफामा कमी आउने चिन्ता बढेको छ । यस्तै देशको आन्तरिक तथा बाह्य आर्थिक बृद्धिमा असर पर्ने देखिएको छ ।




