काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा ओभरपास उद्घाटन गर्दै उपत्यकाका अन्य भागमा पनि यस्ता संरचना विस्तार गरिने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममार्फत ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।
राजधानीको ट्राफिक समस्या समाधान गर्ने दिर्घकालीन योजना अघि बढेको संकेत दिए । ‘देश सामान्य रूपमा होइन, गति लिँदै अगाडि बढेको छ,’ ओलीले भने, ‘अब चक्रपथको विस्तार मात्र होइन, अन्य स्थानहरूमा पनि फ्लाइओभर र ओभरपास निर्माण गरिन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गलाई एशियाली मापदण्डमा लैजाने तयारी भइरहेको जनाउँदै बहुआयामिक विकासको बाटो समातेको दाबी गरे । ‘जनताले आफैंले अनुभूति गर्नुभएको छ, देश विकासको बाटोमा अघि बढिरहेको छ,’ उनले भने ।
ओलीले सरकार एक क्षेत्र मात्र होइन, विभिन्न क्षेत्रमा समान रूपमा विकासका गतिविधि अघि बढाइरहेको दाबी गरे । आलोचकहरूको संकेत गर्दै उनले भने, ‘केहीलाई देश विकास हुँदैछ भन्ने चिन्ता लागिरहेको छ। तर म भन्छु- देश विकास हुँदैछ, अझ तीव्र गतिमा अघि बढ्छ ।’




