काठमाडौं । मनसुनको सुरुवातसँगै बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्ले पार्न सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई २०० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ।
सिप्रदी समूहको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोग विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहने सुरक्षाकर्मीहरूलाई थप तयारीमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरीका डिआइजी ओम बहादुर राना, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ राज थपलिया लगायत सिप्रदी र नेपाल प्रहरीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एआईजी तामाङले सुरक्षाकर्मीहरूको सुरक्षाका लागि यस्ता उपकरणहरू अत्यन्त उपयोगी हुने भन्दै सिप्रदी समूहप्रति आभार व्यक्त गरे। डिआइजी रानाले आपतकालीन अवस्थामा खटिने प्रहरीहरूको तयारीमा यस्तो सहयोग प्रेरणादायी हुने बताए।
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका सीईओ श्रेष्ठले समाज र समुदायप्रतिको उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै सिप्रदी समूहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
सिप्रदीयन सहायता संस्था, सिप्रदी समूहद्वारा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रमहरूको प्रमुख अङ्गका रूपमा, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय रहँदै आएको छ। यसपटकको सहयोगले वर्षासँगै आउने सम्भावित संकटहरूलाई सामना गर्न प्रहरी प्रशासनलाई थप सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ।




