घोराहीको ट्राफिक चोकको बस्तीमा बाढी

काठमाडौं । दाङको घोराहीस्थित ट्राफिक चोक नजिकैको शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ। बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।

घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्रायः सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले जानकारी दिएका छन्। उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ।

फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन्। उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन्। नजिकैको कटुवा खोलाको पानीलाई कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाही लगायतका ठाउँतिर सिंचाइका लागि लगिएको छ।

सो कुलोभन्दा पूर्वतर्फ तल शिरडी साई मन्दिर टोल छ। कटुवा खोलामा बाढी आउँदा कुलोको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री