एक महिना लामो उपचारपछि मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ एक महिना लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा गम्भीर संक्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै सोमबार घर फर्किएका हुन् ।

करिब एक महिनाअघि छातीमा समस्या देखिएपछि महासचिव वैद्यलाई अस्पताल लगिएको थियो । विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा उनको उपचार भइरहेको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख भएपछि डिस्चार्ज गर्ने निर्णय लिइएको हो ।

उनको डिस्चार्जबारे जानकारी दिँदै उनकी छोरी चेतना शर्माले बुवाको स्वास्थ्यमा राम्रो सुधार आएको बताइन्।  ‘चिकित्सकको सल्लाहअनुसार नै बुवालाई घर ल्याइएको हो,’ उनले भनिन्, ‘अब केही समय घरमै आराम गर्नुहुनेछ ।’

चिकित्सकहरूले पनि उनलाई पूर्ण स्वास्थ्यलाभका लागि केही समय आराम गर्न र भेटघाट कम गर्न सुझाएका छन् । वैद्य अस्पताल भर्ना रहँदा विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता, शुभचिन्तक तथा आफन्तहरूले उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेका थिए । उनको स्वास्थ्य अवस्थाबारे पार्टी पंक्ति पनि निरन्तर चिन्तित थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री