वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा वितरण हुने

काठमाडौं । यसवर्षको वर्षायाममा पनि काठमाडौँ उपत्यकाका बासिन्दाले मेलम्चीको पानी पिउन पाउने भएका छन् । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची आयोजनालाई वर्षातको समयमै सञ्चालन गर्न पूर्वतयारी पूरा भइसकेको जनाएका छन् ।

सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको स्थलगत निरीक्षणपछि मन्त्री यादवले आगामी दिनमा वर्षाको बहानामा पानी नआउने अवस्था अन्त्य हुने दाबी गरे । उनका अनुसार, अब वर्षायाममा पनि मेलम्ची सुरुङमार्फत निरन्तर रूपमा स्वच्छ खानेपानी वितरण हुनेछ ।

मन्त्री यादवले भने, ‘रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ हुँदै काठमाडौँमा आपूर्ति गर्ने सफल परीक्षण भइसकेको छ । अब मेलम्ची बन्द हुनुपर्ने कारण छैन । वर्षायामका जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजना कार्यान्वयनमा ल्याएका छौँ ।’

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेका अनुसार, परीक्षण सफल भएपछि वर्षात्को समयमा रिबर्मा खोलाबाट दैनिक पाँचदेखि सात करोड लिटर पानी सुरुङमार्फत काठमाडौँमा ल्याउने प्राविधिक सम्भावना पुष्टि भएको छ । ‘आवश्यक सम्पूर्ण भौतिक संरचना तयार भइसकेको छ,’ उनले भने, ‘अब वर्षातको बहानामा काठमाडौँमा पानी वितरण रोकिँदैन ।’

२०७८ सालको विनाशकारी बाढीपछि हरेक वर्षाको समयमा मेलम्ची सुरुङ बन्द गर्नु परिरहेकोमा, यसपालि भने सुरुङ र वितरण प्रणालीको मर्मत तथा सुरक्षा सुदृढ बनाइएको बताइएको छ ।

मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षा र आपूर्ति टोली २४ सै घण्टा खटिएको जानकारी दिँदै, मन्त्री यादवले भने, ‘जनताको प्राथमिकतालाई बुझेर दिगो समाधान खोजिएको हो । अब वर्षातमा पनि काठमाडौँवासीलाई पानीका लागि हैरानी हुने छैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री