पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । साइबर अपराधसम्बन्धी मुद्दामा नेपाल प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिए पनि उच्च अदालतले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पाठकलाई तत्काल पक्राउ नगर्न भनेको हो ।

पत्रकार पाठकविरुद्ध हिल्टन होटलसँग जोडिएको लगानीसम्बन्धी टेलिभिजन सामग्री प्रसारणको विषयमा साइबर ब्युरोमा उजुरी परेको थियो । उक्त सामग्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी, परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको नाम जोडिएको छ ।

यस उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न लागिएको भन्दै उनले आइतबार पाटन उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ भएपछि अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । आदेशमा अनुसन्धान प्रक्रिया नरोकिने भए पनि पाठकलाई तत्काल पक्राउ नगर्न स्पष्ट रूपमा भनिएको छ ।

यस आदेशसँगै पाठक केही समयका लागि पक्राउको जोखिमबाट जोगिएका छन् भने मुद्दाको थप सुनुवाइ अब नियमित प्रक्रिया अनुसार हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री