काठमाडौं । इजरायल र इरानबीच जारी द्वन्द्व र त्यसले सिर्जना गरेको अस्थिरता प्रति नेपालले चासो देखाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार इजरायली राजदूत स्मुलिम एरी बाससँग भेट गरी पछिल्लो अवस्थाबारे जानकारी लिएकी हुन् ।
परराष्ट्र मन्त्रालयमा सम्पन्न भेटका क्रममा राजदूत बासले इजरायल–इरानबीचको युद्ध र त्यसले क्षेत्रीय सुरक्षामा पारेको असरका बारेमा विस्तृत जानकारी गराएका थिए । मन्त्री राणाले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूको सुरक्षा र आवश्यक परेमा सहायता उपलब्ध गराउन आग्रह गरिन् ।
उनले नेपालीहरू सुरक्षित रहनु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै, इजरायल सरकारलाई आवश्यक सहयोग गर्न अनुरोध गरिन् । राजदूत बासले इजरायलस्थित नेपाली नागरिकहरू हाल सुरक्षित रहेको जानकारी दिएका छन् ।
यसअघि, आइतबार परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्तिमार्फत इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको पुष्टि गरिसकेको थियो । मन्त्री राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोनमार्फत सम्पर्क गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएकी थिइन् ।



