गणतन्त्रको जग सामुदायिक क्याम्पस हुन् : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको लोकतान्त्रिक गणतन्त्रको अस्तित्व सामुदायिक क्याम्पसहरूकै कारण टिकेको दाबी गरेका छन् । उनले ग्रामीण तहमा खुलेका शैक्षिक संस्थाहरूले लोकतन्त्रको जगलाई बलियो बनाएको तर्क गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता’ सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यदि उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा मात्र सीमित हुन्थ्यो भने गणतन्त्र नै सुरक्षित हुन नसक्ने जिकिर गरे । ‘ यदि ग्रामीण तहमा यी पब्लिक क्याम्पसहरू खुलेका थिएनन् भने नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमाथि अनेक प्रश्नचिन्ह खडा हुन्थ्यो,’ उनले भने, ‘यही कारणले लोकतान्त्रिक गणतन्त्र बाँचेको छ । यस्ता संस्थालाई हामीले बचाउनैपर्छ । यो जिम्मेवारी हामीसँग छ ।’

उच्च शिक्षाको पहुँचलाई बढ्दो युवा पलायनको समस्यासँग जोड्दै मन्त्री अधिकारीले सरकार यस विषयमा गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा यसलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम र बजेट विनियोजन गरिएको बताए । ‘हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् । युवाहरूलाई यहीँ बस्ने वातावरण बनाउन सकिन्छ,’ उनले भने, ‘शिक्षा क्षेत्रको सुधारका लागि नयाँ शिक्षा ऐन जारी गर्न शिक्षामन्त्रीज्यूले आफ्नो आगमनदेखि नै देखाउनुभएको सक्रियता प्रशंसनीय छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री