रियलमीका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी रियलमीले नेपाली बजारमा आफ्नो नयाँ सिरिज अन्तर्गत रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। गेमिङ क्षमता, स्टाइल र प्रविधिको संयोजनसहित ल्याइएको यो सिरिज कम्पनीको मिड-हाई सेग्मेन्टका प्रयोगकर्तालाई लक्षित गरिएको बताइएको छ।

रियलमी १४ फाइभजी मा शक्तिशाली Snapdragon 6 Gen 1 चिपसेट, ६००० mAh टाइटन ब्याट्री, र १२० हर्जको एमोलेड डिस्प्ले दिइएको छ। यसमा IP66, IP68 र IP69 सर्टिफिकेसन सहितको दमदार डिजाइन, एडभान्स कुलिङ प्रणाली, स्मार्ट एआई फिचर, र डुअल सिम फाइभजी सपोर्ट उपलब्ध छ। त्यस्तै, यसमा ५० मेगापिक्सेल मेन क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा, १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज रहेको छ। डाइनामिक र्‍याम एक्सपान्सनमार्फत २१ जीबीसम्म र्‍याम विस्तार गर्न सकिने र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने सुविधा पनि यसमा समावेश छ।

रियलमी १४ टी फाइभजी पनि आधुनिक प्रयोगकर्तालाई लक्ष्य गरी डिजाइन गरिएको छ। फोनमा ६.७२ इन्चको फुल एचडी प्लस डिस्प्ले, २००० निट्स ब्राइटनेस, ४५ वाट सुपरभोक फास्ट चार्जिङ, साइड फिङ्गरप्रिन्ट स्क्यानर, एआई फेस अनलक, एन्ड्रोइड १४, ३.५ एमएम हेडफोन ज्याक र USB Type-C पोर्ट रहेका छन्।

दुवै फोनको अग्रिम बुकिङ सुरु भइसकेको र चाँडै नेपालभरका आधिकारिक स्टोर र अनलाइन प्लेटफर्ममार्फत बिक्री सुरु हुने कम्पनीले जनाएको छ।

रियलमी १४ फाइभजीको मूल्य ४९,९९९ रुपैयाँ र रियलमी १४ टी फाइभजीको मूल्य ३६,९९९ रुपैयाँ निर्धारण गरिएको छ। रियलमीका यी स्मार्टफोनले प्रविधि, मूल्य र प्रदर्शनका हिसाबले नेपाली उपभोक्ताको आकर्षण खिच्ने प्रबल सम्भावना देखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री