काठमाडौं । गिनिज वर्ल्ड रेकर्डसमा ‘सर्वाधिक उचाइमा म्युजिक भिडियो’ निर्माण गरी विश्व कीर्तिमान राखेका निर्देशक तथा सञ्चारकर्मी राजेन्द्र लुईटेलले अर्को अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। उनलाई भारतको प्रतिष्ठित संस्था युनीभर्सल बुक अफ वर्ल्ड रेकर्ड बाट विशेष सम्मान प्रदान गरिएको हो।
एक भव्य समारोहमा लुईटेललाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, वाणिज्य तथा आपूर्ति समिति सभापति अब्दुल खान, युनीभर्सल बुक अफ वर्ल्ड रेकर्डकी प्रमुख डा. शिखा नरुला र भारतीय वरिष्ठ पत्रकार मनिष सिंहले प्रमाणपत्रसहित सम्मान गरे।
गिनिज बुकमा नाम लेखाएपछि राष्ट्रपतिबाट समेत सम्मानित भइसकेका लुईटेलले हालसम्म दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय संस्थाबाट सम्मान प्राप्त गरेका छन्। राष्ट्रियस्तरमा उनले सयौं पुरस्कार तथा सम्मान हासिल गरिसकेका छन्।
सञ्चार र निर्देशन दुवै क्षेत्रमा सक्रिय
झन्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील लुईटेल नेपाल–भारत मैत्री सम्बन्ध सुदृढ पार्ने अभियानमा लागिरहेका छन्। हाल उनी राष्ट्रखबर डटकम, राष्ट्रखबर साप्ताहिक र प्याजेन्ट नेपाल का प्रमुख संपादकका रूपमा कार्यरत छन्। साथै, कार्यक्रम व्यवस्थापन संघ नेपालका वरिष्ठ उपाध्यक्ष र अन्य आधा दर्जन संस्थामा आबद्ध छन्।
सिर्जनात्मक क्षेत्रमा पनि उत्तिकै व्यस्त लुईटेलले हालैका दिनमा थाइल्याण्डमा सम्पन्न ‘हिमालयन इन्टरनेशनल अवार्ड’, नेपालमा आयोजना भएको ‘जिनियस म्युजिक अवार्ड’ र ‘नवौं नेशनल क्यापिटल अवार्ड’ मा उत्कृष्ट भिडियो निर्देशकको अवार्ड जितेका छन्।
लुईटेलले मुम्बईमा आयोजित दादासाहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड समेत प्राप्त गरिसकेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, नेपाल–भारत सम्बन्ध विस्तार तथा पत्रकारितामार्फत गरिएको योगदानको उच्च मूल्याङ्कन स्वरूप उनलाई सो सम्मान प्रदान गरिएको हो।
उनले हालसम्म प्राप्त गरेका केही प्रमुख अन्तर्राष्ट्रिय सम्मानहरूमा गिनिज वर्ल्ड रेकर्ड, अमेरिका वर्ल्ड रेकर्ड अफ बुक, युरोपियन वर्ल्ड रेकर्ड, ब्रिटिश वर्ल्ड रेकर्ड अफ बुक, डा. एपीजे अब्दुल कलाम सेवा सम्मान, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, इन्टरनेशनल पिस अवार्ड र इण्डो-नेपाल जर्नालिज्म अवार्ड समेत छन्।




