पूर्वराजा समर्थित आन्दोलनप्रति कांग्रेसको कटाक्ष- ‘संविधानको घेरालाई तोड्नु अस्वीकार्य’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले हाल राजसंस्थाको पुनःस्थापनाको मागसहित भइरहेको आन्दोलनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ । सोमबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संविधानको घेराभन्दा बाहिर गएर गरिने कुनै पनि गतिविधिलाई अस्वीकार्य ठहर गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, “संविधानमा सुधारको आवश्यकता देखिएमा त्यो काम जननिर्वाचित प्रतिनिधिले गर्छन्। तर, गैरसंवैधानिक गतिविधि अपारदर्शी र लोकतन्त्रविरोधी हुन्छ।”

उनले थपे, “नेपालको संविधान बाहिरबाट दिएको होइन, हामी जनप्रतिनिधिले बनाएका हौं। त्यसको रक्षा गर्ने जिम्मा पनि हाम्रो हो र हामी त्यसबाट पछि हट्दैनौं।”

हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजावादी समूहहरूले राजसंस्था पुनःस्थापना गर्नुपर्ने मागसहित देशका विभिन्न स्थानमा प्रदर्शन तीव्र बनाउँदै लगिरहेका छन्। यस्ता प्रदर्शनप्रति कांग्रेसले लोकतान्त्रिक अभ्यासमाथिको प्रहारको रूपमा हेरेको छ।

बैठकमा कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक, भ्रातृ संस्थाहरूको अधिवेशन र तदर्थ समितिको अवस्था जस्ता सांगठानिक विषयमा पनि छलफल गरेको प्रवक्ता महतले जानकारी दिए। उनका अनुसार, छिट्टै बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाहरूको अधिवेशन गर्ने वा तदर्थ समिति विस्तार गर्ने भन्नेबारे अन्तिम निर्णय गर्नेछ।

नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षा सबैभन्दा ठूलो प्राथमिकता भएको स्पष्ट पार्दै जनमत र विधिको शासनविपरीत जान खोज्ने प्रवृत्तिबाट सतर्क रहन सबै दललाई आग्रह गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री