दरबार हत्याकाण्डका नाइकेबारे जनतालाई बुझाउने बेला आएको अध्यक्ष दाहालको टिप्पणी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्ड, यथास्थितिवाद र प्रतिगमनका विषयमा जनतालाई सुसूचित गर्ने समय आएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समय राजसंस्थालाई पुनःस्थापित गर्ने प्रयासप्रति तीव्र असन्तुष्टि जनाए।

अध्यक्ष दाहालले पछिल्लो समय राजसंस्थाका पक्षमा उब्जिरहेको तर्क र बहसलाई प्रतिगमनको संकेत भन्दै त्यसविरुद्ध विचार र तथ्यका आधारमा प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए। “राजावादी शक्तिहरू फेरि सक्रिय बन्दै छन्। उनीहरू हिजोका हिंसात्मक घटनालाई बिर्सन लगाउँदै छन्,” उनले भने, “अब जनतालाई दरबार हत्याकाण्डका नाइके को थिए, नविता–विनीता प्रकरण के थियो, मूर्तिहरू कसले चोरेर विदेश पुर्‍यायो भन्ने बारे प्रस्ट पार्नुपर्छ।”

उनको भनाइमा, यथास्थितिवादी र प्रतिगमनकारी प्रवृत्तिहरू माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर देखाउने प्रयासमा लागेका छन्। “हिजो २५० वर्ष शासन गरेर जनतालाई के दिए? हामीले केही समयमै जनतालाई अधिकार दिएँ। तर, उनीहरू फेरि पुरानै शासन प्रणाली फर्काउने सपना देख्दै छन्,” दाहालले टिप्पणी गरे।

अध्यक्ष दाहालले गाउँ–टोलमा जनचेतना फैलाउने अभियान चलाउनुपर्नेमा जोड दिँदै यस्ता भ्रम र प्रचारको प्रतिवाद संस्थागत र संगठित रूपमा हुनुपर्ने बताए। “भ्रम हटाउन अब तथ्य र इतिहाससँगै जनतामाझ जानुपर्छ,” उनले भने।

उनले जनतासँग विकासका यथार्थ र संघर्षका उपलब्धि लिएर जानुपर्ने र इतिहासलाई बिर्सन नदिने अभियान सञ्चालन गर्न वाईसीएल र सम्पूर्ण कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। “राजावादी शक्तिहरूले फैलाउने जालझेलविरुद्ध अब सशक्त प्रतिवाद आवश्यक छ,” उनले दोहोऱ्याए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री