भ्रष्टाचार भन्दा ठूलो काममा ढिल्लासुुस्ती : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–कमला–मरिण डाइभर्सन आयोजना निर्माणमा देखिएको ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि जनाउँदै ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको शिलान्यास समारोहमा बोल्दै उनले आयोजना समयमै सम्पन्न गर्नेतर्फ सरकार कटिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीका अनुसार आयोजनामा भ्रष्टाचार मात्र नभई निर्माणमा भएको लापरबाही र सुस्तीले झनै गम्भीर समस्या उत्पन्न गरेको छ। “अब ढिलासुस्ती सहन सकिने अवस्था छैन। भ्रष्टाचारजत्तिकै गम्भीर हो काममा भएको ढिलाइ,” उनले भने, “सरकार अब ढिलासुस्तीविरुद्ध पनि कडा कदम चाल्नेछ।”

सुनकोशी नदीमा बाँध निर्माण गर्ने जिम्मा पाएको पटेल–रमण जेभीले चार वर्ष सात महिनामा आयोजना सम्पन्न गर्ने गरी माघ २०७९ मा सम्झौता गरेको थियो। तर, सम्झौता अवधिको ४५ प्रतिशत समय बितिसक्दा पनि प्रगति जम्मा सात प्रतिशत हाराहारीमै सीमित रहेको भन्दै सरकारले कार्यसम्पादनमा असन्तोष प्रकट गरेको छ।

यस अवसरमा प्रधानमन्त्री ओलीले मधेश प्रदेशको विकासलाई प्राथमिकतामा राखिएको जनाउँदै, रेल सेवा, सिँचाइ, आवास र विपद् व्यवस्थापनमा सरकार सक्रिय रहेको जानकारी दिए। उनले हालै नेपाली सेनालाई चक्रवातबाट जोगिन ८७९ आवास हस्तान्तरण गरिएको उल्लेख गर्दै १० हजारभन्दा बढी आवास निर्माण योजनामा कार्य भइरहेको बताए।

रेलसेवाको सन्दर्भमा उनले यात्रु संख्याअनुसार सेवा अभाव रहेको स्वीकार गर्दै दक्ष जनशक्ति अभावका कारण रेल घाटामा गएको बताए। “हामीले आफ्ना जनतालाई तालिम दिनुपर्छ। बाहिरबाट महँगोमा जनशक्ति ल्याएर समस्या समाधान हुँदैन,” उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले चुरे क्षेत्र संरक्षण गर्दै मधेशको सिँचाइ समस्याको समाधान गर्ने ठोस योजना पनि ल्याइने बताएका छन्। चुरेमा पानी संकलन गर्ने, पोखरी निर्माण गर्ने र त्यसबाट मधेशमा पानी पुर्‍याउने उपायले प्रदेशलाई गरिबीमुक्त बनाउन सकिने उनको विश्वास छ।

कार्यक्रममा डिजिटल माध्यमबाट ६४ वटा सडक आयोजना शिलान्यास गरेका प्रधानमन्त्री ओलीले निर्माणमा ढिलाइ गर्ने कम्पनी र ठेकेदारलाई चेतावनी दिँदै तोकिएको समयभित्र काम नगरे ठेक्का खारेज गरिने स्पष्ट पारे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री