इन्टरलाई ५-० ले हराउँदै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

पेरिस । लामो समयदेखि युरोपियन फुटबलको शिखर स्पर्श गर्न संघर्षरत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अन्ततः युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दै इतिहास रचेको छ। जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा सम्पन्न फाइनलमा पीएसजीले इटालियन दिग्गज इन्टर मिलानलाई ५-० को एकतर्फी नतिजामा पराजित गर्दै पहिलोपटक उपाधि चुमेको हो।

कुनै समय लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेजस्ता सुपरस्टारहरूलाई एकैपटक अनुबन्ध गरेर उपाधिको खोजीमा रहेको पीएसजीले ती सबै खेलाडी क्लब छाडिसकेपछि ऐतिहासिक सफलता हासिल गर्नु विशेष संयोग बन्यो। यति मात्र होइन, क्लब छाडेर रियल मड्रिडमा आबद्ध भएका एम्बाप्पेको पूर्वक्लब पीएसजीले उपाधि जितेको याममै रियल मड्रिड भने उपाधि रक्षा गर्न असफल रह्यो।

फ्रेन्च क्लबमार्फत च्याम्पियन्स लिग जित्ने दोस्रो टिम बनेको पीएसजीले सन् २०२० मा फाइनलमा पराजय भोगेपछि यसपटक त्यसको बदला लिन सफल भयो। प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा उत्कृष्ट लयमा देखिएको टोलीले लिग १ र फ्रेन्च कपसँगै तीनवटै शीर्ष उपाधि जित्दै “ट्रेबल” को उपलब्धि हासिल गर्‍यो। यसअघि एनरिकले सन् २०१५ मा बार्सिलोनासँग यस्तो उपलब्धि बनाएका थिए।

उपाधि यात्रामा पीएसजीले लिभरपुल, एस्टन भिला, र आर्सनलजस्ता शीर्ष क्लबलाई हराउँदै फाइनलको बाटो बनाएको थियो। फाइनलमा भने पीएसजीको आक्रमण र रणनीतिसामु इन्टर मिलान पूर्णतः निरीह देखियो।

दोस्रोपटक चार वर्षभित्र फाइनल पुगेको इन्टर मिलानका लागि भने यो अर्को पीडादायी सम्झना बन्यो। सन् २०२२ मा म्यानचेस्टर सिटीसँग उपाधि गुमाएको इन्टरले यसपटक सेमिफाइनलमा बार्सिलोनालाई अतिरिक्त समयको निर्णायक गोलमार्फत हराएको थियो। तर, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा यहाँसम्म आइपुगे पनि अन्तिम बाधा पार गर्न नसक्दा इन्टर फेरि च्याम्पियन बन्नबाट चुक्यो।

पीएसजीको यो सफलता फ्रेन्च फुटबलकै लागि ठूलो उपलब्धि मानिएको छ। मार्सेपछि युरोपियन च्याम्पियन बन्ने दोस्रो फ्रेन्च क्लबको हैसियतले अब पीएसजी युरोपियन फुटबलको केन्द्रमा स्थापित भएको छ। क्लब र समर्थकका लागि वर्षौंको प्रतीक्षापछि आएको यो उपाधि भावनात्मक र ऐतिहासिक दुवै बनिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री