फोनपेको ‘स्टुडेन्ट एम्बेसडर २०२५’: युवालाई डिजिटल नेतृत्वमा बदल्ने राष्ट्रिय अभियान

काठमाडौं । नेपालकै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल नेपाल निर्माणको दिशामा नयाँ पाइला चाल्दै “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” सुरु गरेको छ। देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीलाई लक्षित यस कार्यक्रमले युवाहरुलाई डिजिटल साक्षरता, फिनटेक नवप्रवर्तन, नेतृत्व विकास र सामाजिक प्रभाव सिर्जनामा सशक्त बनाउने उद्देश्य लिएको छ।

फोनपेका अनुसार “स्टुडेन्ट एम्बेसडर कार्यक्रम” को मूल मर्म भनेको आजको विद्यार्थी नै भोलिको डिजिटल नेपालका नेतृत्वकर्ता हुन् भन्ने मान्यता हो। कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई डिजिटल भुक्तानी प्रवर्द्धन, प्रभावकारी सामग्री निर्माण, र नेतृत्व क्षमताको व्यवहारिक प्रयोग गर्न अवसर दिनेछ।

८ हप्तासम्म सञ्चालन हुने कार्यक्रमका लागि यस वर्ष देशभरबाट १७० भन्दा बढी टिमले आवेदन दिएका थिए। तीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट ७५ टिम, अर्थात् १५० विद्यार्थीहरू चयन गरिएका छन्, जसले आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल अभियानमा नेतृत्वदायी भूमिका खेल्नेछन्।

कार्यक्रमको उल्लेखनीय पक्ष “Time to Teach Back” अभियान हो, जसअन्तर्गत विद्यार्थीहरूले आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूलाई डिजिटल उपकरण तथा वित्तीय प्रविधिको प्रयोग सिकाउनेछन्। यसले पुस्ताबीचको डिजिटल खाडल कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

फोनपेका अनुसार चयन गरिएका स्टुडेन्ट एम्बेसडरहरूले डिजिटल भुक्तानी प्रणालीलाई समुदायस्तरसम्म पु¥याउने, स्थानीय जागरुकता कार्यक्रम सञ्चालन गर्ने, र दीर्घकालीन सामाजिक रूपान्तरणको बीजारोपण गर्ने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप