सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका महत्वपूर्ण : सांसद केसी

काठमाडौं । स्थानीय स्तरमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यम र विभिन्न संघ–संस्थाहरूले खेलेको भूमिकालाई संघीय सांसद अर्जुननरसिंह केसीले उच्च मूल्याङ्कन गर्नुभएको छ।

राजधानीमा आज आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै सांसद केसीले भौतिक (मूर्त) र अमूर्त सम्पदा तथा समृद्ध संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षणमा मिडियाको सक्रियता अत्यन्तै महत्वपूर्ण रहेको धारणा राख्नुभयो। मिसन मिडिया क्लबले आयोजना गरेको “सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया र संघ–संस्थाको भूमिका” विषयक छलफल कार्यक्रममा उहाँले सहकार्य र पुस्तान्तरणमार्फत सम्पदा संरक्षणलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमकै अवसरमा सांसद केसीले क्लबद्वारा सञ्चालित एक साताको उद्घोषण तालिममा सहभागी भएका दुई दर्जन प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पनि मिडियाको पहलकदमीलाई सकारात्मक ठहर गर्दै सम्पदा संरक्षण एक साझा जिम्मेवारी भएकाले यस विषयमा मिडियाले मिशनको रूपमा अभियान थाल्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम र काठमाडौं महानगरपालिका वडा नं. १९ को सहकार्यमा तथा विपद् पत्रकारिता सञ्जालको समन्वयमा आयोजित सो कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चारमाध्यमहरूले स्थानीय सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनप्रति देखाएको चासो सराहनीय भएको बताउनुभयो। उहाँले संरक्षण अभियानमा स्थानीय मिडियाको सक्रियता निर्णायक बन्ने उल्लेख गर्नुभयो।

मिसन मिडिया क्लबका अध्यक्ष श्रीजन झाले “सम्पदा हाम्रो पहिचान हो, पर्यटन हाम्रो सम्भावना” भन्ने तथ्यलाई स्मरण गराउँदै सञ्चार क्षेत्रले सम्पदा संरक्षणका लागि निरन्तर प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तेवेन्द्र शाक्य र प्रा.डा. अमिता प्रधान, वरिष्ठ कलाकार शिवहरी नेपाल, उद्घोषण तालिम प्रशिक्षक नरेश मल्ल, प्रशिक्षार्थीहरू, नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष गणेश नेपाल, ६७ वर्षीय प्रशिक्षार्थी बालमुकुन्द मूल्मी तथा वडा नं. १९ की सदस्य रञ्जिता परियार लगायतले सम्पदाको संरक्षण र प्रचार–प्रसारमा मिडियाको भूमिकाका विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री