काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा आज द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। चीनको विदेश मन्त्रालयको निमन्त्रणामा ‘मध्यस्थता प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धि’मा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङमा रहेकी मन्त्री राणासँग मन्त्री यीबीच सार्थक संवाद भएको हो।
भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयामहरू, साझा चासोका विषयहरू, आपसी हित तथा दुवै देशबीच स्थापन भएको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवका सन्दर्भमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री राणाले नेपाल र चीनबीचको दीर्घकालीन मित्रता र आपसी सहयोगको सम्बन्धप्रति कृतज्ञता व्यक्त गर्दै चीनको निरन्तर समर्थनले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन्।
नेपाल–चीन सम्बन्धमा प्रतिबद्धता दोहोर्याउँदै
मन्त्री राणाले नेपाल सदैव ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै कुनै पनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट अभिव्यक्ति दिइन्। सगरमाथा संवादमा चीनको उच्चस्तरीय सहभागिताका लागि उनले विशेष धन्यवादसमेत दिइन्। साथै उनले चिनियाँ समकक्षी वाङ यीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पनि दिइन्।
जलवायु तथा वातावरणीय सहकार्यको प्रस्ताव
चीनका विदेशमन्त्री वाङ यीले भेटका क्रममा जलवायु परिवर्तनका चुनौतीहरूका सामना गर्न र वातावरण संरक्षणका क्षेत्रमा चीन नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताए। साथै उनले चीनबाट नेपाललाई दिइँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताहरूको कार्यान्वयनमा जोड दिँदै मन्त्रीद्वयबीच सो सम्बन्धमा समेत गहन छलफल भएको थियो। चीनको समन्वयमा गठन हुने मध्यस्थता सम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत नेपालसँग आगामी दिनमा अझ प्रभावकारी सहकार्यको सम्भावना रहेको मन्त्री यीले बताए।
भेटवार्ताको अन्त्यमा मन्त्री वाङ यीले मन्त्री राणाद्वारा दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने आशय व्यक्त गरेका थिए।




