काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा व्याप्त नकारात्मक सोच र प्रवृत्तिले देश विकासमा बाधा पुऱ्याइरहेको बताउँदै यस्तो मानसिकता त्यागेर सकारात्मक ऊर्जाका साथ राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेकी छन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा. राणाले ‘केही पनि हुँदैन र सम्भव छैन’ भन्ने जस्ता निराशाजनक धारणाले न समाज न त देशकै प्रगति हुन सक्ने बताएइन् । नकारात्मक प्रवृत्ति देशभित्रका राजनीतिक दल, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत फैलिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।’
उनले यस्तो नकारात्मकता त्यागेर देश निर्माणका लागि सकारात्मक र रचनात्मक वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन् । गैरआवासीय नेपालीहरू (एनआरएनए)लाई सम्बोधन गर्दै मन्त्री राणाले उनीहरूमा निहित शक्तिलाई पहिचान गरी एकताबद्ध हुन आग्रह गरिन् । ‘संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ,’ उनले भनिन्, ‘त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।’
सर्वोच्च अदालतको परमादेशको पालना गर्दै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र सहमतिबाटै नयाँ कार्यसमिति चयन भएको उनले स्पष्ट पारिन् । परराष्ट्रमन्त्री डा. राणाले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको विकास र समृद्धिमा लगाउन संसारभर छरिएका नेपालीहरूलाई अपिल गरेकी छन् ।
आफू परराष्ट्रमन्त्री भएपछि विश्वभरका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा सहज रूपमा पुऱ्याउन मन्त्रालयमा ‘डायस्पोरा महाशाखा’ नै स्थापना गरी काम अघि बढाइएको जानकारी दिँदै उहाँले यस प्रयासमा सबै नेपालीको सहयोग अपरिहार्य रहेको बताइन् । ‘हामीले नेपाली डायस्पोराका साथै आर्थिक कूटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ,’ मन्त्री राणाले अगागि भनिन्, ‘यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ ।’
उनले सकारात्मक सोच र सामूहिक प्रयासबाटै समृद्ध नेपाल निर्माण सम्भव हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, जनसम्पर्क समिति जापानका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका साथै पूर्वपदाधिकारी र सदस्यहरु, नवनिर्वाचित एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठ तथा एशिया संयोजक डा बलराम श्रेष्ठ, एनआरएनए जापानका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।




