काठमाडौंमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

२७० जना सहभागी, प्रेरणादायी कथासहित पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ ‘समुदायको शक्ति’ भन्ने विश्वव्यापी नाराका साथ विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठन (WHO) ले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाएको ऐतिहासिक निर्णयको स्मरणमा हरेक वर्ष यो दिवस विश्वभर मनाइन्छ । यसै अवसरमा मितिनी नेपालले सातै प्रदेशका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरू, अधिकारकर्मी, सरोकारवाला निकाय, जनप्रतिनिधि, शिक्षक, कलाकार, मिडियाकर्मीसहित २७० जनाको सहभागितामा भव्य कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले समाजमा अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समस्या पहिचान नै नहुने अवस्था रहेको भन्दै ‘समस्या पहिचान नभएसम्म समाधान सम्भव हुँदैन’ भने ।

मन्त्री भण्डारीले संविधानमा अधिकारको प्रत्याभूति गरिए पनि विद्यमान कानुन तथा नीतिहरू अझै पनि लैङ्गिक मैत्री नभएको उल्लेख गर्दै तिनको संशोधन अपरिहार्य रहेको धारणा राखे । श्रम ऐन संशोधनको प्रक्रिया अगाडि बढेको र कुनै पनि नागरिकलाई विभेद नगर्ने कुरा उनले प्रस्ट पारे ।

संघीय संसदको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले संविधान र कानुनले कुनै पनि नागरिकलाई जात, धर्म, वर्ण, लिङ्ग र सम्प्रदायका आधारमा भेदभाव गर्न नदिने व्यवस्था गरेको स्मरण गराए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र विवाह जस्ता अधिकारमा समुदाय अझै पछाडि पारिएको उल्लेख गर्दै राज्यले यसको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा समुदायका जोडी तथा व्यक्तिहरूको ११ प्रेरणादायी कथा समेटिएको ‘समुदायको शक्ति’ पुस्तक विमोचन गरिएको थियो । संस्थापक अध्यक्ष लक्ष्मी घलान, मन्त्री भण्डारी, सभापति शाह र राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

विमोचित पुस्तकमा समावेश कथाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले विवाह तथा सामाजिक पहिचानको अभावमा भोग्नुपरेको व्यक्तिगत र सार्वजनिक संघर्षको कथा बोलेकाे छ ।

विगत २८ वर्षदेखि सहजीवन बिताइरहेका लुम्बिनी प्रदेशका समलैंगिक महिला जोडी पवित्रा वादी नेपाली र विमला बिक तथा आफ्नो सन्तानको पहिचानलाई आत्मसात गर्ने बागमती प्रदेशका अशोक कोइराला र उनको परिवारलाई प्रमुख अतिथिद्वारा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन मन्तव्य राख्दै संस्थापक अध्यक्ष लक्ष्मी घलानले विगतमा समुदाय आफ्नै यौनिकता र पहिचानका साथ खुलेर अघि आउन सक्ने वातावरण नरहेको बताउँदै अहिलेको अवस्था ठूलो संघर्षको परिणाम भएको उल्लेख गरिन् । उनले यौनिक पहिचानका कारण वैदेशिक रोजगारी, जागिर, सामाजिक व्यवहार तथा सेवाहरूमा भोग्नुपरेको विभेदको उदाहरण दिँदै ‘शक्ति समुदायको आवाज हो, परिवर्तन सम्भव छ’ भन्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको औपचारिक भागपछि विविध सांस्कृतिक प्रस्तुतिहरू मारुनी नृत्य, तामाङ सेलो, भरतनाट्यम, कविता वाचनलगायत प्रस्तुती राखिएको थियो । पत्रकार आरती चटौतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री