काठमाडौं । मोरङमा पालिका अध्यक्षमाथि आफ्नै वडाध्यक्षलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएको छ । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीमाथि ग्रामथान-२ का वडाध्यक्ष यादव खतिवडालाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो ।
वडाध्यक्ष खतिवडा नेकपा (एमाले) बाट निर्वाचित हुन् भने अध्यक्ष माझी हालै सम्पन्न उपनिर्वाचनबाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित भएका थिए । गाउँपालिकाभित्र वडाहरूलाई वितरण गरिने भुक्तानी रोकिएको विषयमा वडाध्यक्ष खतिवडासहित केही जनप्रतिनिधिहरूले वैशाख ३१ गते विरोध कार्यक्रम गरेका थिए । त्यसकै प्रतिक्रिया स्वरूप कार्यक्रम सकिएपछि गयानन्द माझी (जो अध्यक्ष माझीका निकटस्थ मानिन्छन्)ले समेत खतिवडालाई ज्यान मार्ने धम्की दिएको वडाध्यक्षको भनाइ छ ।
ग्रामथान-२ स्थित पिडारवनी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अध्यक्ष माझी स्वयंले वडाध्यक्ष खतिवडालाई सार्वजनिक रूपमा गालीगलौज गरेका थिए । खतिवडाले आरोप लगाउँदै भने, “कार्यक्रम हलमै अध्यक्षसहित चार-पाँच जना आएर ‘ठेगान लगाइदिन्छौं’ भन्दै सार्वजनिक रूपमै अपमान गरे ।’
घटनाप्रति नेकपा (एमाले) मोरङले कडा आपत्ति जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष अजम्बर राईले शनिबार विज्ञप्ति जारी गर्दै ‘वडाध्यक्षमाथिको अभद्र व्यवहार र ज्यान मार्ने धम्की लोकतान्त्रिक मूल्य र मर्यादाको अपमान’ भएको भन्दै अध्यक्ष माझीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । साथै, खतिवडाको जिउधनको सुरक्षाको माग पनि गरिएको छ ।
घटनापछि प्रतिक्रिया दिँदै अध्यक्ष नमोनारायण माझीले भने आफूमाथि लगाइएको आरोप अतिरञ्जित गरिएको बताए । उनले भने, ‘जनताको काम नगरेकाले २-४ शब्द भनियो होला । त्यसलाई गालीगलाैज वा धम्की भन्न मिल्दैन । यो त जनताको आक्रोश हो ।’




