काठमाडौं । नेपालका सडकमा सेरेस ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी) को संख्या ५०० नाघेको सेरेस तथा यसको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि मोटर्सले औपचारिक रूपमा घोषणा गरेका छन्। यस ऐतिहासिक उपलब्धिलाई स्मरणीय बनाउन कम्पनीले विशेष उत्सव कार्यक्रमको आयोजना गर्दै केक काटेर खुसी साटासाट गरेको हो।
केक काट्ने समारोहमा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया, प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तसहित व्यवसायिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सिकरियाले नेपाली भूगोल तथा आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सेरेस ईभी समाधानको सफलता प्रति सन्तोष व्यक्त गरे। उनले भने, “सेरेस गाडीको संख्या ५०० नाघ्नु हाम्रो समर्पण, नवप्रविधिमा आधारित सेवा तथा ग्राहकको अटुट विश्वासको परिणाम हो।” उनले सेरेसका गाडीहरू प्रविधि, सुरक्षा, प्रदर्शन र डिजाइनको दृष्टिले नेपाली बजारको मागअनुसार तयार गरिएको बताए।
यसै क्रममा, कम्पनीले सन् २०२६ भित्र थप तीनवटा नयाँ ईभी मोडेलहरू नेपाली बजारमा सार्वजनिक गर्ने घोषणासमेत गरेको छ। सेरेसको विश्वास छ कि नयाँ मोडेलहरूले नेपालमा प्रिमियम इलेक्ट्रीक भेहिकलको पहुँच अझ विस्तार गर्दै वातावरणमैत्री तथा नवप्रविधिमै आधारित यात्राको नयाँ युग प्रारम्भ गर्नेछ।



