काठमाडौं । काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्सपेक्टर) जितेन्द्र साहले जनपद प्रहरी सहायक हवल्दार मदन खड्कामाथि थप्पड हानेको घटनाले सार्वजनिक चासो बढाइरहेका बेला दुवै प्रहरी कर्मचारीको जिम्मेवारी खोसिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न देखिएका दुवै जनालाई तत्काल प्रभावबाट हटाइएको र आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । घटनाले प्रहरी संगठनभित्रको आन्तरिक शिष्टाचार र कार्यव्यवहारमाथि प्रश्न उठाएको भन्दै छानबिनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गरिने एसएसपी खनालको भनाई छ ।
यसअघि थानकोट प्रहरी स्रोतका अनुसार भारतीय नम्बर प्लेटको सवारी साधन नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने क्रममा गाडी रोक्ने-नरोक्ने विषयमा ट्राफिक इन्सपेक्टर साह र जनपदका हवल्दार खड्काबीच विवाद भएको थियो । त्यसक्रममा इन्सपेक्टर साहले हवल्दारलाई थप्पड हानेको पुष्टि प्रहरी अधिकारीहरूले गरेका थिए । सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी संगठनमाथि आलोचना चुलिएको थियो । त्यसैको प्रतिकृयास्वरूप दुवैलाई जिम्मेवारीबाट हटाइएको हो ।
घटनाबारे विस्तृत छानबिन गर्न प्रहरी वृत्त थानकोटकी डिएसपी एलिजा गिरीको नेतृत्वमा छानबिन टोली खटाइएको छ । छानबिन प्रतिवेदनपछि आवश्यक कारबाही गरिने प्रहरी स्रोतले बताएको छ ।




