भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार डोलेश्वर भिलेज रिसोर्टलाई प्रा.लि.बाट पब्लिक कम्पनीमा रुपान्तरण गरी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को अनुमति लिन आवश्यक सम्पूर्ण तयारी कार्य सिटिजन्स क्यापिटलले परामर्श सेवामार्फत उपलब्ध गराउनेछ । सम्झौतापत्रमा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
२०७६ सालदेखि औपचारिक कारोबार सञ्चालन गर्दै आएको डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको प्रसिद्ध धार्मिक क्षेत्र डोलेश्वर महादेव मन्दिर नजिकै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल १५ वटा कोठासहित सेवा दिइरहेको रिसोर्टमा कोठाको संख्या बढाएर ३५ पु-याउने, साथै स्वीमिङ पुल निर्माण गर्ने कार्य तीव्रगतिमा अगाडि बढाइएको रिसोर्ट व्यवस्थापनले जनाएको छ । यी संरचनात्मक विस्तार कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
रिसोर्टमा ३०० जनासम्म अट्ने क्षमता भएका तीन वटा सभा/सेमिनार हल छन्, जसले विवाह, ब्रतबन्ध, गोष्ठी, सेमिनार तथा पिकनिकजस्ता कार्यक्रम आयोजना गर्न सकिने उपयुक्त वातावरण प्रदान गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल यो रिसोर्ट डोलेश्वर महादेव मन्दिरबाट मात्र २०० मिटर टाढा अवस्थित छ ।




