- ओम शाही
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनद्वारा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबारको ‘छोरीका मनका कुरा’ सत्रको सहजकर्ता थिए, पत्रकार महेश केसी र सहभागी थिए, हुम्ला जिल्लाका छोरीहरु । उनीहरुलाई सहजकर्ता केसीले प्रश्न सोध– तपाई आफ्नो मनभित्रका कुरा कसलाई सुनाउनु हुन्छ ? यदि सुनाउन पाउनु भएको छैन भने कसले सुदिए हुन्थ्यो जस्तो लाग्छ ? सहजकर्ता केसीले यो प्रश्न हुम्लाको ताजाकोट गाउँपालिकाकी सपना शाहीलाई सोधेका थिए ।
जवाफमा शाहीले अहिलसम्म आफ्ना मनका कुरा कसैलाई नसुनाउने गरेको बताइन । ‘मेरो मनका कुरा अरुलाई सुनाउ जस्तो पनि लिाग्दैन । म आफ्ना मनका कुरा म आफैलाई सुनाउछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येक भित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ । जबसम्म हामीले यसलाई गाइड गर्दैनौ यसले हामीलाई सही मार्ग दिन सक्दैन । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैलाई सुनाउ छु ।’
केशीले शाहीलाई निर्धक्क मनका कुरा व्यक्त गर्न अनुरोध गरेपछि शाहीले महिनावारीका समयमा निकै कष्ट व्यहोर्नु परेको सुनाइन । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नु परेको उनले सुनाइन । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नु परेको गुनासो शाहीले व्यक्त गरिन ।
उत्तरी नाम्खा गाउँपालिकाकी लामुु तामाङलाई पनि सहजकर्ता केशीले यही प्रश्न सोधे । जवाफमा उनले आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको सुनाईन । ‘सर्वप्रथम आफ्नो मनको कुरा ममीसँग सेयर गर्छु । तर सबै कुरा सेयर गर्न सकिदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरुसँग मनका सबै कुरा सेयर गर्दिनन् । मेरा मनका कुरा सबैले सुनिदिउन जस्तो पनि लाग्दैन,’ उनले भनिन् ।
हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मी परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आएकी थिइन । उनले आफुलाई समाजबाट जातकै कारण भोग्नु परेको विभेदले पिरोल्ने गरेको सुनाइन । ‘हाम्रो गाउँमा जातिय छुवाछुत निकै छ । मान्छे मरेपछि तिमिहरु तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिवलाई हेपिन्छ,’ उनले भनिन् । आफूहरुलाई जातकै आधारमा विभेद गरिदा अपहेलित हुनुपरेको दुखेशो परियारको छ । जातिय विभेद आफुलाई मन नपर्ने उल्लेख गर्दै उनले नाम पछाडिको थरले जतातै विभेद भोग्नु परेको गुनासो गरिन । उनले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभुति सुनाइन ।
सर्केगाड गाउँपालिकाकी आस्था शाहीको मनमा महिनावारी गहिरो गरी बसेको छ । महिनावारी नियमित प्रक्रिया हो भन्ने त उनलाई थाहा छ, तर परिवार र समाजको स्वीकार्यका अघि उनको डेग चलेको छैन । शाहीलाई आफ्ना बाबुआमाबाट टाढा भएर शिक्षा लिनु बाध्यता पटक्कै मन परेको छैन । परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अुनभुति शाहीको छ । आफ्ना परिवारसँगै बसेर उच्च शिक्षा लिन पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्छ ।
‘विकास हरेक सुचाङकमा पछाडि परेको हुम्ला । पढाइ राम्रो हुँदैन । तीन चार महिना मात्रै पढ्न पाइन्छ । एसईई पास भएपछि तल आउदा पढ्न निकै समस्या हुन्छ । माथिको पढाइ र यहाँको पढाइमा निकै फरक हुन्छ,’ उनले भनिन् । एसईई सकेपछि सयमा ९० प्रतिशत विद्यार्थीे घर छाडेर सहर जान बाध्य हुनुपरेको उनले बताइन । ‘आफ्ना बाबुआमालाई छोड्दा बुवाआमालाई एकातिर दुख, छोराछोरीलाई उता दुख । मेरो छोरा÷छोरी पढ्छन्, प्रगति गर्छ भन्ने आशमा बुवाआमाले आँखामा आशु निकालेर सहर पठाउछन् । तर बिडम्बना हामी गाउँका सरकारी विद्यालयमा पढ्छौ, त्यहाँको पढाइ र यहाँको पढाइमा आकाश पाताल फरक हुन्छ । सरकारी विद्यालयमा हामीलाई अंग्रेजीको आधारभूत सीपसमेत हुँदैन । यता आयो हामीलाई बुझ्नै गारो हुन्छ । यसले हामीलाई निकै समस्या हुने गरेको छ । कहाँ पढ्ने कसरी पढ्ने भन्नेमा अन्यौलता हुन्छ,’ उनले शाहीले आफ्ना मनका कुरा व्यक्त गर्दै भनिन् ।
यस्तै, सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहले कयौ छोरीको भविष्य अन्धकारमा धकेलिने अवस्था रेहेको सुनाइन । उनीहरु मात्रै होइन ‘छोरीका मनका कुरा’ सत्रमा सहभागी हुम्लाका आठै जना किशोरीका मनका कुरा एकै खालका थिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको अभावले उनीहरु राज्यका आधारभूत सेवाबाट बञ्चित थिए नै, प्रथाजनित हानिकारक सामाजिक संस्कारको सिकारसमेत बनेको तितो यथार्थबा गुज्रिरहेका छन् । २१ औं शिक्षित समाजमा अझै पनि कर्णालीका छोरीहरु जातिय विभेद र छाउपढी प्रथाविरुद्ध संघर्ष गर्नुपर्ने बाध्यतामा छन् ।
उक्त सत्रमा हुम्लाको अदानचुली गाउँपालिकाका सविना विष्ट, सर्केगाड गाउँपालिकाका आस्था शाही, सर्केगाड गाउँपालिकाकै नविना शाही, चंखेली गाउँपालिका भावना शाही, ताजाकोट गाउँपालिकाका सपना शाही, खार्पुनाथ गाउँपािलकाका रश्मी परियार र नाम्खा गाउँपालिकाका लामुु तामाङ आफ्ना मनका कुरा सुनाउन प्रदेशको मुकाम वीरेन्द्रनगर झरेका थिए । श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई बढी छोरीहरु सहभागि छन् ।




