काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले उत्पादन क्षमतासँगै पूँजी संरचना विस्तार गर्दै पूँजी वृद्धि गरी २७ करोड पुर्याउने लक्ष्य लिएको छ। उक्त संरचनाअनुसार कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत, अर्थात् ८ करोड १० लाख रुपैयाँ बराबरको सेयर सार्वजनिक गर्ने तयारी गरेको हो।
आईपीओ निष्कासनका लागि कम्पनीले लगानी व्यवस्थापन तथा परामर्शका लागि प्रोस्पेरिटी भेञ्चर्स प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौतामा सुमेरु पोलिमर्सका प्रवन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका प्रवन्ध सञ्चालक कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
चालु आर्थिक वर्षभित्र कम्पनीले थप ८ करोड ९० लाख रुपैयाँ संस्थापक पूँजी जुटाउने योजना पनि अघि सारेको छ, जसपछि संस्थापक समूहको सेयर स्वामित्व १८ करोड ९० लाख रुपैयाँ पुग्नेछ।
उद्योग तथा व्यापार क्षेत्रमा अनुभवी व्यवसायीहरूको नेतृत्वमा सञ्चालित सुमेरु पोलिमर्सले हालसम्म तीन वर्षदेखि लगातार वार्षिक २१ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ। पूँजी अभिवृद्धिपछि उत्पादन विस्तार गरी कारोबारलाई आगामी वर्षमा ३० करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ।
हाल कम्पनीको बजार कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसम्म फैलिएको छ भने आगामी वर्षहरूमा सातै प्रदेशमा व्यापार विस्तार गर्ने योजना बनाएको छ।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ र प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँ रहेको छ। कानुन बमोजिम योग्य ठहरेमा कम्पनीले प्रिमियम मूल्यमा पनि आईपीओ निष्कासन गर्ने संकेत दिएको छ।
विसं २०७४ मा प्राइभेट कम्पनीको रूपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ मा स्थापना भएको सुमेरु पोलिमर्स हाल नेपालमै पहिलोपटक PVC, HDPE, CPVC पाइप र फिटिङ्स सामग्री उत्पादन गर्दै आएको कम्पनी हो। चालु आर्थिक वर्षमा सार्वजनिक कम्पनीमा रूपान्तरण भइसकेको कम्पनीले आगामी दिनमा सेयर बजारमा आफ्नो उपस्थिति सुनिश्चित गर्ने तयारी गरेको छ।




