काठमाडौं । नेपालमा पहिलोपटक हेमोफिलिया (रगत नजम्ने वंशाणुगत रोग) पीडितका लागि वितरण हुने निःशुल्क औषधि भित्रिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको कार्यक्रमअनुसार औषधिहरू नेपाल भित्रिएपछि अब बिरामीहरूलाई वितरण सुरु हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच फागुन ४ गते भएको सम्झौताअनुसार पाँच प्रकारका अत्यावश्यक औषधिहरू स्वास्थ्य सेवा विभागमा आइपुगेका छन्। विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, “औषधि वितरणका लागि आवश्यक सूची तयार पारिनेछ र सोहीअनुसार अस्पतालहरूमा पठाइनेछ।”
मन्त्रालयले औषधि वितरणका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल र सिभिल अस्पताललाई जिम्मा दिएको छ। साथै, सातै प्रदेशका थप १० प्रादेशिक अस्पतालहरूमा पनि औषधि आपूर्ति गरिने व्यवस्था मिलाइएको छ।
यो व्यवस्था सुरु गर्ने निर्णय गत माघ १० गते मन्त्री पौडेलले गरेका थिए। हेमोफिलिया उपचारमा लाग्ने अत्यधिक खर्चका कारण पीडित तथा सम्बन्धित संघसंस्थाहरूले सरकारसँग निःशुल्क औषधि उपलब्ध गराउन माग गर्दै आएका थिए।
स्वास्थ्य सेवा विभागका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “महासंघबाट प्राप्त पाँच प्रकारका औषधिहरू जटिल तथा पछिसम्म असर पार्न सक्ने हेमोफिलिया उपचारमा प्रयोग हुने उच्चस्तरीय औषधिहरू हुन्।”
विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा अझै पहिचान हुन नसकेका करिब ५ हजार हेमोफिलिया पीडित हुनसक्ने अनुमान छ। २०७८ को जनगणनाका अनुसार देशका २.२ प्रतिशत जनसंख्यामा अपांगता देखिएकोमा ०.८ प्रतिशतमा हेमोफिलिया हुने सम्भावना औंल्याइएको छ।
सरकारको यो पहलले दीर्घकालीन रूपमा हेमोफिलिया पीडितहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।




