काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति संसदबाट कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई किन उचालेको भन्दै प्रश्न गरेका छन् ।
‘तपाईले त प्रधानसेनापति नै हटाउनु भएको थियो त । एक पटक सम्झिनुस् त तपाईले कसरी हटाउनु भएको थियो प्रधानसेनापतिलाई । अस्तीकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनु भयो । उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनु भएको छ ? मुटुमै गोली लागे जस्तो किन भएको छ ?
उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै उचाल्नुको औचित्य नभएको बताएका छन् । ‘सरकारसँग उसको ट्युनिङ मिलेन उसको एउटा बन्दोबस्त भयो । प्रधानसेनापति हटाए जस्तो होइन, मुख्यसचिवलाई जगेडामा राखे जस्तो होइन । एक पटक सम्झिनुस् । तपाईका पालामा के–के भएका थिए’ उनले भने ।




