उद्योगी रामकुमार राठीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । नेपाली चिया उद्योगको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा झन्डै छ दशकदेखि अतुलनीय योगदान पुर्‍याउँदै आएका वरिष्ठ उद्योगी रामकुमार राठीलाई सरकारले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । २९औं राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उनलाई उक्त सम्मान प्रदान गरेको हो ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री एवम् बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै राठीको योगदानको उच्च मूल्याङ्कन गरे । राठी नेपालका पहिलो टि टेस्टर (चिया परीक्षक) समेत हुन्। चीनको भ्रमणका क्रममा चिया परीक्षण प्रक्रिया देखेपछि उनी यस क्षेत्रमा आकर्षित भएका थिए । त्यसयता उनले चियाको परीक्षण, उत्पादन, प्रसोधन, बजारीकरण र निर्यातसम्मका सम्पूर्ण पक्षमा उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

सन् १९६८ देखि १९७० सम्म भारतको कोलकत्तास्थित डी.सी. घोष एण्ड कम्पनीमा टि टेस्टरको तालिम लिएका राठीले नेपाल फर्किएपछि सन् १९७२ मा ‘आरके ओभेरसिज’ कम्पनी स्थापना गरी चियाको निर्यात थालनी गरे । उनले जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजिप्ट र इरानलगायतका मुलुकहरूमा नेपाली चिया पुर्‍याउँदै बजार विस्तार गरे ।

विसं २०३३ मा ‘हिमाल चिया उद्योग’ (Rakura) स्थापना गरेर संस्थागत रूपमै चिया उत्पादन सुरु गरेका राठीले विसं २०४६ मा इलामको मालुममा निजी क्षेत्रबाट पहिलो चिया उद्योग ‘हिमालयन रेन्ज चिया उद्योग’ स्थापना गरे । यसबाहेक, २०६३ मा झापाको हल्दीबारीमा ‘सुनकोशी चिया उद्योग’ तथा २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने ‘हिमालयन भ्याली प्रा. लि.’ स्थापना गरेर नेपाली चियालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री