काठमाडौं । शनिबार रातिदेखिको अविरल वर्षापछि दाउन्ने खण्डअन्तर्गतको राजमार्गको अवस्था अत्यन्तै खराब बनेको छ, जसका कारण सयौं यात्रुहरू सडकमै अलपत्र परेका छन् । सडक हिलो र चिप्लो भएका कारण सवारी साधन चल्न नसक्दा दुबै दिशामा यातायात पूर्णरूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार, बाटो बिस्तारको क्रममा डाँडा कटान र कल्भर्ट निर्माणको लागि खाल्डा खनिएकाले पानी परेपछि सडक हिँड्नै नसक्ने अवस्थामा पुगेको हो । उनले भने, “चिप्लो सडकका कारण सवारी साधनहरू चलाउन निकै मुस्किल परेको छ, यात्रुहरू घण्टौं जाममा बस्न बाध्य भएका छन् ।”
सडक सुधारका नाममा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिँदै आए पनि निरन्तरको वर्षाले निर्माणकार्यमा समेत असर परेको छ । यात्रुहरू गन्तव्यमा पुग्न नसकेर मध्यरातदेखि नै सडकमा अलपत्र परिरहेका छन् । महिलादेखि बालबालिका तथा वृद्धसम्म खुलेआम सडकमा रात बिताउन बाध्य भएको पीडित यात्रुहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयले तत्काल सडक मर्मत गरी यातायात सञ्चालन सहज बनाउने प्रयास जारी रहेको जनाएको छ । यद्यपि, लगातारको वर्षाले सुधारकार्यमा पनि चुनौती थपिएको छ ।
स्थानीय बासिन्दा र यात्रुहरूले सम्बन्धित निकायलाई चाँडो समाधान ल्याउन आग्रह गरेका छन् । वर्षा यामको सुरुआतमै यस्तो अवस्था देखिएको भन्दै आगामी दिनहरूमा अझ ठूलो सास्ती भोग्नुपर्ने चिन्ता व्यक्त गरिएको छ ।




